प्राकृतिक रुपमा निकै सुन्दर देखिने पोखरीको पानीमै टेकाएर हजारौं संख्यामा फूलघोडा गाडिएको छ । हात जोड्दै प्रार्थना गर्नेको भीड उत्तिकै छ । पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या झन् धेरै देखिन्छ । कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ । झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गकै कुनै टुक्रा हो । र, त्यहाँ उपसना गर्नेहरु यही भावले सुनवर्षीको ऐतिहासिकतालाई थप महत्व दिँदैछन् ।
हरेक वर्षझैँ मोरङको साबिक गोविन्दपुर हाल रतुवामाई नगरपालिका ५ मा अवस्थित सुनवर्षी पोखरी नयाँ वर्षको दिनका झकिझकाउ थियो । भक्तजन र दर्शनार्थीको संख्या थेगिसक्नु छैन । युवा युवतीको सहभागिता पनि उत्तिकै छ । नजिकैको थानमा पशुपंक्षी बली दिनेको लस्कर छ । धामीलाई मन्त्र फुक्न भ्याइनभ्याइ छ । बलीका लागि परेवाका बचेरा, कुखुरा र बोका तयार छन् । माटोको हात्ती र अरु त्यस्तै आकृति चढाउने लाइनमा उभिएका छन् । सुनवर्षीमा थामिनसक्नुको भीँड छ । फूलघडा (कागजबाट बनाइएको घोडाको प्रतिमा) लाई मनोकांक्षा पूरा गराइदिने माध्यम मानिन्छ । वर चाहिने बधु हुन् कि बधु चाहिने वर नयाँ वर्षमा सुनवर्षी पुगेकै हुन्छन् । र, भाकल गर्छन, ‘‘हे सुनवर्षी महाराज उनैसँग जुराई देउ ।’’
भाकल गर्नेले विधिअनुसार पूजाआजा गर्न छुटाउँदैनन् । सुनवर्षीमा आइतबार भेटिएका धेरै जोडीले फूलघोडा चढाउँदा यसले मूर्त रुपमा पाउने बताए । भारतको कुवाडीबाट आएका युवाले भने,‘‘सुनवर्षीमा फूलघोडा चढाउँदा पे्रम प्रस्ताव गर्दा सफल हुने भएकोले हामी दुबैजना आएका हौं ।’’
तराईका आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाउने गर्छन् । वैशाखभरि विभिन्न थानमा मेला भर्ने प्रचलन छ । सुनवर्षीबाट शुरु भएको मेलाको क्रम सिरुवा मेलाका रुपमा अन्यत्र महिना दिनसम्म चल्छ । मेजमान (पाहुना) जाने र आउने क्रम चलिरहन्छ । रतुवामाई नगरपालिकाका प्रमुख रविन राई भन्छन्, ‘‘सुनवर्षी धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो । यसलाई पर्यटकीय क्षेत्र बनाउन हामीले दीर्घकालीन योजना अघि सारेका छौं ।’’
राईका अनुसार मेला भर्न एवम् सुनवर्षी महाराजको ग्रामथानमा पूजाअर्चाना गर्न पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् ।
सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । ५० वर्षअघि लागेको मेलामा सो पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने गरेको जनश्रुति अझै बुढापाकाहरु सुनाउँछन् ।
तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी रहेको छ । प्रत्येक वर्ष आजकै दिन नुहाइधुवाई गरी सफा भएर सुनवर्षी महाराजको ग्रामथानमा पूजा गर्न भक्तजन र प्रेमिजोडीहरु पुग्ने गर्छन् ।
सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका शिवदयाल राजवंशी यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै भन्छन्,‘‘यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयार थालिएको बताए ।
परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको छ । हाल आएर स्थानीय राजवंशीहरूले सुनवर्षी पोखरीको डिलमा महाराजको एउटा मन्दिर पनि निर्माण गरेका छन् । मन्दिरमा आएर भाकल र पूजा गर्ने चलन छ । भाकल पूरा भए हर्षोल्लास गरिन्छ । सुनवर्षीलाई साक्षात् इश्वर मान्दछन ।
समितिका अध्यक्ष कुमार बुढाथोकीले पोखरीलाई अझ धेरै व्यवस्थित गरिएको र यसलाई पर्यटकीय रुपमा विकास गरिने बताए ।
बाह्रखरी डटकम बाट साभार

