काठमाडौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मितालाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले सोमबार आदेश दिएको हो । न्यायाधीस हेमन्त रावलको इजलासले पत्रकार पुडासैनी आत्महत्या प्रकरणसँग सम्बन्धित मुद्दामा बहस सकिएलगत्तै यस्तो आदेश गरेका हुन् ।

कार्कीलाई पीडित भन्दै साधारण तारेखमा छोड्न आदेश गरिएको छ । विपक्षीका वकिल सुनिल पोख्रेलले रवि र युवराजलाई भने पाँच र तीन लाख धरौटी माग गरिएको जानकारी दिए ।
रविले न्यूज २४ बाट सञ्चालन गरिरहेको कार्यक्रम सिधा कुरा जनतासँग सञ्चालन गर्न पाउने भए पनि पुडासैनी आत्महत्या प्रकरणको विषयमा भने कार्यक्रम चलाउने नपाउने आदेश दिइएको छ । पुडासैनी प्रकरणको मुद्दा विचाराधिन भएकोले यस विषयमा कार्यक्रम सञ्चालन गर्न नपाउने बताइएको छ ।
आइतबार मात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्यागर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र कार्कीमाथि पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोग दायर गरेको थियो ।
पत्रकार पुडासैनी गत साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । उनले आत्महत्या अघि मोबाइलमा भिडियो रेकर्ड गर्दै आफूलाई आत्महत्या गर्न रविसहित, युवराज र अस्मीताले बाध्य पारेको बताएका थिए ।
सोही भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । घटनाको अनुसन्धान चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले गरेको थियो ।
बाह्रखरी डटकमबाट


