शालिकरामको आत्महत्या अघिको भिडियो खिचिदिने ब्यक्ती अर्कै रहेको अदालतको ठहर (अदालतको आदेश सहित)

पढ्न समय: 3 मिनेट

काठमाडौं-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ ।  जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ । 

तथ्य विश्लेषण खण्डमा यस्तो लेखिएको छ :
‘भिडियो रेकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुबै हात जोडेर आफ्ना वृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन । 

- Advertisement -
Ad image

निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’

अदालतको तथ्य विश्लेषण खण्डमा ठहरकै शैलीमा उल्लेख भएको यस बुँदाले दुईवटा शंका बढाएको छ ।  पहिलो शालिकरामले आत्महत्या गर्नुपूर्व कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गराएका थिए । तर उक्त व्यक्तिले शालिकरामलाई रोक्ने प्रयास नै गरेनन्, हारगुहार नै गरेनन् र ती व्यक्ति पनि दोषी हुन् । यसको अर्थ फैसला हुनुभन्दा अगाडि ती व्यक्तिलाई पनि खोज भन्ने आशय देखिन्छ । 

दोस्रो, आदेशमा भनिएअनुसार भिडियो रेकर्ड गर्दा स्याण्डो लगाएर रेकर्ड गरिएको र पछि सर्ट र पाइन्ट लगाएर आत्महत्या गरेकाले सायद त्यो भिडियो आत्महत्या गरेकै दिनको भिडियो होइन कि भन्ने सवाल उठाइएको छ । 

के शालिकरामले अस्मितालाई ब्ल्याकमेल गर्न पहिले नै भिडियो रेकर्ड गराएका थिए ?

अदालतले भिडियो रेकर्ड गर्ने कार्यमा अर्को व्यक्ति पनि संलग्न थियो भन्ने ठहर गरेकाले कतै यो भिडियो सुरुमा अस्मितालाई धम्क्याउन वा आफूप्रति नरम गराउन कुनै व्यक्तिको सहयोग लिएर भिडियो रेकर्ड गराएका त थिएनन् भने सवाल पनि उठाएको छ । यद्यपि, अस्मिताले बयानमा त्यो भिडियोपछि सामाजिक सञ्जालमा मात्रै हेरेर थाहा पाएको बताएकाले त्यो सम्भावना पनि सकिएको छ । 

अदालतको ठहर अर्कै व्यक्तिको सहयोगमा भिडियो खिचेको भन्ने नै आएपछि अब सरकारलाई पनि टाउको दुखाई भएको छ । पहिलो कि त त्यो भिडियो खिचिदिने व्यक्ति पक्राउ गर्नुपर्यो । वा त त्यो भिडियो शालिकरामले नै खिचेको हुन् भनेर अदालतको ठहरलाई गलत प्रमाणित गर्न सक्नुपर्यो ।

अदालतले मिसिलमा भिडियो रेकर्डको समय उल्लेख नभएकाले कहिले रेकर्ड भएको हो थाहा नभएको बताएको छ । यससँगै त्यो भिडियो शालिकरामले आत्महत्या गरेको कोठामै रेकर्ड भएको हो कि होइन भनेर पनि खोज्नुपर्ने भएको छ । 

रातोपाटी डटकम्बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *