काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको खबर आज बाह्रखरी डटकमले छापेको छ । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।
स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।
स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।
यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’
बिज्ञापन


