
काठमाडाैं, चैत १२ गते । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार दिउँसाेबाट उपलब्ध गराउन सुरु गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।
मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।
यस सँगै बुधबार देखि नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन गरेको छ ।
कम्पनीले विश्वमा महामारीका रूपमा फैलिएको कोरानो भाइरसको संक्रमणबाट सुरक्षित रहन घरैमा बस्न आग्रह गरेको छ । यस्तै आफू वा आफ्नो परिवारका सदस्यलाई स्वास्थ्यमा कुनै समस्या आए १११५ मा निःशुल्क कल गर्न वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न ‘रिङ ब्याक टोन’मा आग्रह गरिएको छ ।

