झापा- झापाकाे कचनकवलमा शनिवार साँझ गाेली चलेकाे छ । भारतीय नागरिकको ठूलाे समूह नेपाल छिर्न खाेजेपछि सीमा सुरक्षामा खटिएकाे सशस्त्र प्रहरीले फाइरिङ गरेकाे हाे । भारतीय समूहले प्रहरी माथि हमलाकाे प्रयास गरेपछि प्रहरीले फायरिङ गरेकाे स्थानीयले बताएका छन् ।
घटनाकाेे जिल्ला स्थित सुरक्षा स्रेातले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीकाे टाेलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेकाे जनाएको छ । कचनकवल गाउँपालिका–१ को घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए।
झण्डै डेढ सयजना भारतीय नागरिकको समूहले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले फायरिङ खोलेको हो । प्रहरीले गोली चलाएपछि उनीहरु तितरवितर भएका थिए । घटनाकाे प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले भर्सना गरेका छन् ।
साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लिङदेनले घटनाको भर्सना गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अहिले राती कचनकवल–१ घेरावारीमा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरुबाट भएको आक्रमण प्रयासको भत्सर्ना गर्दछु । सशक्त प्रतिकार गरी आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद व्यक्त गर्दछु ।’
गत साता झापा गाउँपालिका–४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमण प्रयास गरेका थिए । त्यसको भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकले गल्ती स्वीकार्दै माफी मागेपछि घटना टुङ्गिएको थियो ।
बिबेचना डटकम

