जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आइतबार बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाए लगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।
उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।
ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए। “नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन”, तिमल्सिनाले भने। उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए।
नेपाल टाइम्स डटकम

