चैत २४ इलाम । वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।


प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी दिए ।


निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली काँग्रेसबाट डम्बर बहादुर खड्का एमाले बाट सुहाङ लिम्बु रास्वपा बाट मिलन लिम्बु एकिकृत समाजबादीबाट जोत बहादुर राइ राप्रपाबाट लक्ष्मी गुरुङ राप्रपा नेपालबाट गणेश बहादुर चौहान नेमकीपाबाट श्याम बहादुर दर्जी नेपाली जनता दलबाट रेशम बहादुर सुनार मँगोल नेशनल अर्गनाइजेशनबाट मनि बहादुर लिम्बु जनमत पाटीबाट प्रेम कुमार थाम्सुहाङ नेशनल रिपब्लिक नेपालबाट धनराज राणा मगर राष्ट्रिय मुक्ती आन्दोलन नेपालबाट जयबन्त बिक्रम शाह ले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् भने अर्जुन बहादुर शाही केशब कुमार चापागाइ डकेन्द्र प्रसाद लिम्बु डाक प्रसाद गौतम दिपेश बोहोरा मनोज निरौला योगेन्द्र गुरुङ र राज बश्यालले स्वतन्त्र उम्मेदबारी मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मिति चैत २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ।