असार १२ मोरँग । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कार्यबाहक नगरप्रमुख भुमा कुमारी पराजुली ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, रोजगार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
नगरप्रमुख पराजुलीले लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरवासीको विश्वास र समर्थनप्रति आभार व्यक्त गरिन् । उनले “समृद्ध रंगेली निर्माण” लाई लक्ष्य बनाएर उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
चालु आर्थिक वर्षको समीक्षा
चालु आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रकम अपेक्षाभन्दा कम प्राप्त भएको नगरपालिकाले जनाएको छ। आन्तरिक आम्दानी समेत लक्ष्यअनुसार संकलन हुन नसकेका कारण करिब ३ करोड २४ लाख रुपैयाँभन्दा बढी दायित्व आगामी वर्षमा सार्नुपरेको नगरप्रमुख पराजुलीले जानकारी दिइन्। नगरपालिकाले चालु वर्षमा विभिन्न पूर्वाधार तथा विकास निर्माणका काम सम्पन्न गरेको जनाएको छ। घाँघी खोलामा ट्रिपल स्पान बक्स कल्भर्ट निर्माण, वडा नं. ५ मा स्वास्थ्य चौकी भवन निर्माण, सिमा बाँधमा ड्रेन निर्माण, कर्मकार सामुदायिक भवन निर्माण, कालिमन्दिर अगाडि शौचालय तथा पुस्तकालयसहितको भवन निर्माण, ३८ किलोमिटर सडक कालोपत्रे लगायतका कार्य सम्पन्न भएका छन्।
६०० टन क्षमताको कोल्ड स्टोर निर्माण अन्तिम चरणमा पुगेको छ भने कृषि बजार भवन निर्माणाधीन रहेको छ। चालु वर्षमा १११ वटा घर नक्सा पास गरिएको नगरपालिकाले जनाएको छ। कृषि र पशुपालनमा विशेष जोड नगरपालिकाले किसान सूचिकरण, चैते धान प्रवर्द्धन, तरकारी पकेट विकास कार्यक्रम, माटो परीक्षण, कृषि तथा पशु तथ्यांक अद्यावधिक लगायतका कार्यक्रम सञ्चालन गरेको छ। पशुपक्षीमा लाग्ने महामारी रोग नियन्त्रणका लागि ५५ हजारभन्दा बढी पशुमा निःशुल्क खोप लगाइएको छ। आगामी वर्ष कृषि यान्त्रीकरण, प्राङ्गारिक खेती प्रवर्द्धन, कोल्ड स्टोर सञ्चालन, कृत्रिम गर्भाधान, उन्नत घाँस खेती, पशु स्वास्थ्य शिविर तथा माछापालन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति
रंगेली अस्पतालमा विशेषज्ञ सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिक्स शल्यक्रिया तथा डायलाइसिस सेवा सुरु गरिएको छ। अस्पतालले न्यूनतम सेवा मापदण्ड (MSS) मूल्यांकनमा ८९ अंक प्राप्त गर्दै नेपालमै पहिलो स्थान हासिल गरेको नगरपालिकाको दाबी छ।
महिलाको पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर, स्वास्थ्य बीमा नवीकरण, नसर्ने रोगको स्क्रिनिङ, विद्यालय स्वास्थ्य कार्यक्रम, HPV खोप अभियान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ। आगामी वर्ष पनि ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, महिलामैत्री स्वास्थ्य शिविर तथा नसर्ने रोग नियन्त्रण अभियानलाई निरन्तरता दिइने भएको छ। शिक्षामा गुणस्तर सुधार अभियान
नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री तथा बालमैत्री कक्षाकोठा निर्माण, शिक्षक तालिम, विद्यालय समायोजन, ई–हाजिरी प्रणाली व्यवस्थापन, दिवा खाजा कार्यक्रम, स्यानिटरी प्याड वितरण, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा विपन्न विद्यार्थीका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। युवालाई रोजगारी र उद्यमशीलतामा जोड
युवा नेतृत्व विकास, सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण, लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा, मनोसामाजिक परामर्श तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकता दिइएको छ। पूर्वाधार विकासमा उच्च लगानी
नगर क्षेत्रका सडक कालोपत्रे, पुल तथा कल्भर्ट निर्माण, सिंचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य संस्था तथा सार्वजनिक संरचनाको निर्माण र स्तरोन्नतिलाई बजेटको प्रमुख प्राथमिकतामा राखिएको छ।
सुशासन र डिजिटल सेवा विस्तार
सेवा प्रवाहलाई छिटो, सरल तथा प्रविधिमैत्री बनाउने, ई–गभर्नेन्स प्रणाली विस्तार गर्ने, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा पारदर्शिता प्रवर्द्धन गर्ने नीति नगरपालिकाले लिएको छ। गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने र शून्य बेरुजु कायम गर्ने लक्ष्य पनि राखिएको छ।
आय–व्ययको आकार
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले आन्तरिक आय ६ करोड, संघीय राजस्व बाँडफाँट १२ करोड ८ लाख, स्थानीय राजस्व बाँडफाँट ८ करोड ३८ लाख, संघीय समानीकरण अनुदान १४ करोड ८० लाखसहित कुल ८१ करोड ३३ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरप्रमुख पराजुलीले अपेक्षित राजस्व संकलन नभए योजना तथा कार्यक्रम कार्यान्वयनमा चुनौती आउन सक्ने उल्लेख गर्दै बजेट सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन्।
“कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार :
आधुनिक तथा समृद्ध रंगेलीको आधार” भन्ने नारासहित प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध रंगेली निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

