नाला खन्दा चाँदीको मुर्ति भेटियो

पढ्न समय: 1 मिनेट

बाँकेको नेपालगञ्जमा नाला खन्ने क्रममा शिव भगवानको चाँदीको मूर्ति फेला परेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगंजस्थित फोहोरको नाला खन्ने क्रममा शिव भगवानको चाँदी जस्तो देखिने ६/७ किलोको मूर्ति फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एसपी राजकुमार बैदवारले जानकारी दिए।

- Advertisement -
Ad image

नेपालगञ्ज वडा नं. ७ का वडाध्यक्ष जमुन खाँले डोजेरले खनेको नालामा ४ जना बालकले त्यो मूर्ती फेला पारेको बताए।

‘डोजरले खनेको नालामा चार बालबालिकाले मूर्ति फेला पारेपछि टोलमा हल्ला भयो,’ अध्यक्ष खाँले भने, ‘त्यसपछि मलाई खबर भयो र मैले मेयरसापलाई खबर गरेर बोलाएपछि मूर्ति तत्काललाई सुरक्षित स्थानमा राखिएको छ।’

आइतबार बेलुका फेला परेको उक्त मूर्तिलाई नेपालगञ्जका मेयर डा. धवलशम्सेर जबरा, वडा नम्बर- ७ का वडाध्यक्ष जमुन खाँ र स्थानीयको रोहवरमा स्थानीय राम जानकी मन्दिरमा राखिएको छ। मन्दिरमा मूर्ति राखेपछि त्यसको दर्शन गर्न आउनेहरूको भीड लाग्न थालेको वडाध्यक्ष खाँले बताए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्