-प्रा. डा. के. आर. खम्बु
चउनीपोखरीको परिचय
झापा जिल्लाको दक्षिण पश्चिममा पर्ने गौरीगञ्ज गाउँ पालिका वार्ड न. २, टटुवामारी (साबिक बमोजिम कोरोबारीको वार्ड नं ५) मा अवस्थित एक प्राकृतिक सिमसार हो चउनी पोखरी । वि.सं. २०२१ सालको नापीमा यसलाई जगुदह भनी छुट्याएको भए तापनि यहाँका आदिवासी राजबंशी जातिले यसलाई परम्परादेखि आफ्नै भाषामा चलिआएको नाम चउनीलाई नै प्रयोग गर्दै आइएको छ ।
पोखरीको अवस्थिति तथा क्षेत्रफल
यो चउनी पोखरी एक प्राकृतिक पोखरी भएकोले परापूर्व कालदेखि यस क्षेत्रको लागि पानीको मुख्य स्रोत बनेको छ । यस पोखरीको पश्चिमपट्टि धेरै पुरानो राजवंशी गाउँ टटुवमारी पर्छ भने पूर्वतर्फ नयाँ गाउँ (भालुखोप) पर्छ । दुबैतर्फ ठूला गाउँ भएको हुनाले खेती गर्नेको चाप बढेर यसको मौलिक क्षेत्रफलमा अतिक्रमित भइ सागुरिदै गएको छ । यसरी पोखरी मिचिदै जाँदा अहिले (नापी विभागको फायल म्याप अनुसार , साबिकको कोरोबारी ५ (क) कि.नं. १७२ अनुसार) करीब ४ बिघा (२.५ हेक्टर) जति मात्र बाँकी रहेको छ । यो पोखरीको आकार उत्तर–दक्षिण लाम्चो र पूर्व–पश्चिम चौडा छ । लम्बाई करीब ३६० मि. छ भने चौडाइ एकसमान नभएकाले औसत नापी ७० मि. जति पर्दछ ।


पोखरीको उपयोगिता
यस पोखरीको दक्षिणतर्फ साँगुरिएको भागमा बाँध बाँधी त्यही बाँधलाई पूर्व-पश्चिम लोकमार्गको केर्खा जोडने ठाडो बाटोको रुपमा प्रयोग गरिएको छ । यसको पश्चिम उत्तर किनाराबाट स्थानीय जनताले यसको निकासमा कल्भर्ट निर्माण गर्दै पैनी बनाई टटुवामारी गाउँबाट पश्चिम दक्षिण पर्ने निकै धेरै क्षेत्रफलमा सिँचाइ गर्न प्रयोग गरिएको छ ।
स्थानीय सरकारले (पूर्व गाविस कोरोबारी) र हाल गौरीगञ्ज गाउँ पालिका)यस पोखरीलाई प्रति वर्ष माछा मार्न ठेक्कामा दिइ राजस्व असुल्ने गरेको छ । यसको अलावा यो पोखरी हिउँद याममा यस क्षेत्रका खुल्ला चर्ने चौपायाहरुको लागि मुख्य पानीघाटको रुपमा पनि प्रयोग गरिएको देखिन्छ ।
सङ्कटग्रस्त पर्यावरण र जैविकविविधता
करीब ५ दशक अघिसम्म यो पोखरी जैविक विविधताले भरिपूर्ण एक सीमसार पारिस्थितिक प्रणाली थियो । यसको आसपासमा ५० सौं प्रजातिका स्तनधारी, २०० भन्दा ज्यादा प्रजातिका चराचुरुंगी, १०० भन्दा धेर प्रजातिका सरीसृपहरु, ३० भन्दा बढी उभयचरहरु तथा ६० भन्दा बढी माछाका प्रजातिहरु पाइन्थे ।
त्यस बेला यस पोखरीको पूर्बतर्फ साल सतिसाल, साज, हर्रो, बर्रो, खमारी, जामुन आदि मिश्रित घना जंगल थियो । यस पोखरीको पानी अहिलेको भन्दा पचासौ गुणा धेरै थियो तथा यसलाई वारपार गर्न डुंगाको प्रयोग गरिन्थ्यो । यस पोखरीले यस क्षेत्रको पर्यावरणलाई सुद्ध र सन्तुलित राख्दै मौसम ओशिलो बनाएको थियो । पोखरी र वनजंगलको कारणले गर्दा सधै मनसुनी वर्षा राम्रो हुने गरेकोले यस क्षेत्रको माटो रिचार्ज भइ धान खेती पर्याप्त हुन्थ्यो
तर यस्ता सबै प्राकृतिक स्रोतहरू सङ्कटग्रस्त भइ आजभोली लोप हुने अवस्थामा पुगेको छ ।
यसका जैविक विविधताहरु पनि मानवीय अतिक्रमणको जोखिममा परेर हराउँदै गइ सकेका छन् । त्यस्तो घना वनको कुनै चिन्ह पनि छैन । विश्व सङ्कटग्रस्त संरक्षण सूचीमा परेका पंक्षीहरुमध्ये राजगरुड र भ’ँडीफोर गरुड साथै सरीसृपका केही कछुवाका लोपवान् प्रजातिहरु(जस्तै इन्डोटेस्टुडो इलोङगेटा, नेल्सोनिया ह्यूरुम, लिसेमिज पङ्टाटम् आदि) अहिले देखा पर्दैनन् । तर यो पोखरी भने सुक्ने अवस्थामा पुगिसकेको छ । यसर्थ यस पोखरीको सिमसार क्षेत्रलाई तत्काल संरक्षण गर्न अति जरुरी छ । यसलाई समयमै संरक्षण गर्न सके लोप हुँदै गएका जैविक विविधता पुर्नस्थापना हुन सक्नेछ ।
संरक्षणका उद्देश्यहरू
२.१ पोखरीको सीमांकन गरी पुनर्निमाण गर्ने ।
२.२ पोखरीको परिधिमा ६ मि. चौडा बाँध निर्माण गर्ने ।
२.३ बाँधको चारैतिर पाँच लहर बनाएर वृक्षारोपण गरी हरित पेटी निर्माण गर्ने ।
२.४ यस्तो वृक्षारोपणको संरक्षण गर्न पोखरीको परिधिलाई बार घेरा गर्ने र प्रवेश मार्ग र निकास मार्ग बनाउँने ।
२.५ पारिस्थितिक प्रणालीको पुनर्स्थापना पछि यस पोखरीलाई पंक्षी अवलोकन केन्द्र तथा , कछुवा संरक्षण केन्द्र बनाउने, साथै
२.५ पारिस्थितिक प्रणालीको पुनर्स्थापना पछि यस पोखरीलाई पंक्षी अवलोकन केन्द्र तथा , कछुवा संरक्षण केन्द्र बनाउने साथै
२.६ पोखरीको गहराइ करिब ३ मिटर कायम गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि हरित पेटिका अवलोकन तथा बोटिङ गर्ने समेत व्यवस्था गर्दै इकोटुरिजमबाट आय आर्जन गर्न सकिने ।
संरक्षणका प्रयासहरूः
यस पोखरीलाई समयमै लोप हुनबाट बचाउन तथा यो क्षेत्रको पर्यावरणलाई संरक्षण गर्न दुई दशक अघिदेखि प्रयास गरिएको हो ।सन २००१ तिर आर्को-नेपाल भन्ने संस्थाले कछुवा संरक्षण केन्द्र बनाउँदै यस पोखरीको संरक्षण गर्न खोजिएको थियो । त्यसपछि पनि विविध कारणले रोकिएतापनि २००५ तिर पर्यावरण संरक्षण समाजले पनि यस पोखरीको सर्भेक्षण गरी प्रतिवेदन तत्कालीन जिविस झापालाई बुझाउने कार्य पनि गरेको थियो । तर पनि स्थानीय निकाय र जनताहरू सक्रिय नभएको कारणले पोखरी संरक्षण कार्य अघि बढ्न सकेन । यद्यपि २०७१ तिर तत्कालीन राष्ट्रीय सभाका सभासद्मा. अग्नी खरेलज्यूले आफ्नो संस्सदीय कोषको तर्फबाट यस पोखरीको संरक्षण गर्न दश लाख रूपया छुट्याइएको जानकारीमा आएको थियो ।उक्त संसदीय रकमले पोखरीलाई बाध बाध्ने काम गरिएको देखिएको छ । त्यसपछि यो कार्य पुनः यस वर्ष (२०७७)मा पनि यस पोखरीको संरक्षण कार्यलाई निरन्तरता दिन यसको गुरु योजना अनुसार झापा जिल्ला बन कार्यालयको पहलमा स्थानीय जन सहभागितामा चउनी पोखरी संरक्षण तथा व्यवस्थापन समिति गठन भएको जानकारी प्राप्त भएको छ ।
अवस्य पनिझापा जिल्ला बन बिभागको पहल र स्थानीय सरोकारकाला जनताको सहभागितामा हुन गइ रहेको यो संरक्षण योजनाले मूर्त रूप लिन सकोस, सोही पोखरीको निकटवर्ती क्षेत्रमा बस्ने एक नागरीकको नाताले आफ्नो तर्फबाट सधै सहयोग पुर्याउन तत्परहुनेछु । विश्वासिलो, दिगो तथा पारदर्शी कार्यको सदैव प्रसंशक बन्ने छु
भन्दै सफलताको हार्दिक शुभकामना!
**
सन्दर्भ सामाग्री
१. झापा जिल्ला विकास समितिकोयोजना पुस्तक
२. आर्को नेपाल प्रकाशनहरू
३. मेरो अनुसन्धान यात्रा
४. छायाको लस्कर
५. Khambu’s way: crossroad in ne land
-Prof.Dr. K.R. Khambu,
Bhadrapur 8, Jhapa (Nepal)
Jestha 29, 2077 (11 Jun 2020)
००

यो आलेख डा. खुम्बुको फेसबुक बाट साभार गरिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *