प्रा. डा. के आर खम्बु ।
कुनै पनि पोखरी वा सिमसार सम्बन्धी परियोजना बनाउँदा यसलाई संरक्षण गर्ने हो कि विकास गर्ने भन्ने कुरा प्रष्ट हुन पर्छ । यी दुई शब्दहरूका अर्थ एक अर्कामा विपरित हुन्छन् ।
सिमसारलाई परिभाषा गर्दा पानी र माटोको परस्पर सम्बन्ध रहने सिमास्थल हो भन्ने बुझिन्छ । यसर्थ यसको अस्तित्व पनि यस्तै परस्पर सम्बन्ध रहिन्जेलसम्म मात्र हुन्छ । उदाहरणकोलागि हाम्रो समाजको दाम्पत्य जीवनलाई लिन सकिन्छ । जसरी पुरुष र महिलाको बीचमा वैवाहिक सम्बन्ध कायम रहिन्जेलसम्म दाम्पत्य जीवन ठहरिन्छ त्यसैगरी पानी र माटोको परस्पर सम्बन्ध कायम रहेसम्म मात्र सिमसार भनिन्छ ।
यसर्थ सिमसार संरक्षण गर्ने हो भने जमिन र पानीको बीचको परस्पर सम्बन्धलाई निरन्तरकायम राख्नु पर्छ । यदी यसलाई सुरक्षा गर्ने भनी पक्की पर्खाल (सिमेन्टे वाल ) बनायौ भने पानी र माटोको आपसी सम्बन्ध विच्छेद हुनगइ एकतिर पानीटङ्की र अर्कोतिर सुखा जमिनमा छुटिन्छ । यस्तो सिमसारको अस्तित्वनै समाप्त हुनेकार्य नगरौं भनेकोहो ।

चौनी सिमसार


कङ्क्रिटिकरण गर्दा पोखरी कसरी सुक्छ भन्ने कुराको उदाहरण इलामको कुटीडाडा (सानो पाथीभारा मुनी)को हाँसपोखरीलाई लिन सकिन्छ । यो प्राकृतिक पोखरीको रूपमा रहँदा यसमा पानी भर्ने छुट्टै श्रोत कुनै थिएन; वर्षाको पानी दुईतिरको भुर्चुङ डाडाहरूबाट बगेर आइ यहाँ जम्ने गर्थ्यो । यसैगरी पोखरीको पिँधमा लिस्सैलो दलदल माटो भएकोले भल जमेको पानी चुहेर जान पाउँदैन थियो । तर करिब दश वर्ष अघितिरहोला; कुनै अल्पज्ञानी योजनाकारको सल्लाहमा उक्त पोखरी संरक्छण गर्ने निहुँमा पहिले गहिरो गरी खनेर माटो निकालेर बाहिर फालेछन्; अनि त्यसको ओरिपरी पक्की सिमेन्टको पर्खाल ( कङ्क्रिट वाल)ले घेरेछन् । तर त्यसमा पानी जम्न सकेन । स्थानीयहरू अचम्मित भए । निकै वर्षसम्म खाल्डोको रूपमा रह्यो ।किनभने उक्त प्राकृतिक पोखरी पूर्णतय कृतिम पोखरीमा परिणत भइसकेको थियो । पानी आउने स्थायि ठाउँ कङ्क्रिटले छेकेको थियो अनि पिँधको पानी थाम्ने दलदले माटो पनि निकालेर फालीसकेका थिए । यस्तै वातावरण विरूद्ध मानव क्रियाकलापको परिणाम नै पोखरी सुक्नु बन्यो । तर पछि यस्ता कारणहरू थाहा पाएर गल्ती सुधारेपछि पुनः पोखरी पुनस्थापित हुन गयो ।
यसर्थ, चौनी सिमसारको अवस्थितिलाई हेर्दा पनि यसको स्थायी पानीको श्रोत कतै छैन; यसको छेउछाउको खुला खेत बारीमापरेको वर्षेपानी सङ्कलित भइ हरेक वर्ष यसको पानीको झेतिपूर्ती(रिचार्जिङ) हुने गर्छ । यदि पानी नछिर्ने पक्की पर्खाल(कङ्क्रिट वाल) लगाए त्यो वर्षे पानी यहाँ पनि जम्मा हुन नसकी पोखरीको पानी बिस्तारी सुक्दै जाने खतरा प्रष्टै देखिन्छ । चौनीको पानी सुकेमा पुन पोखरी भर्न (ग्राउन्डरिचार्ज) गर्न कहाँबाट पानी ल्याउने भन्ने समस्या आइ पर्छ । कि किस्नीखोला वा कमलखोलाबाटकुलेसो बनाएर ल्याउनु पर्यो कि धेरै पम्पिङ सेट राखेर भूमिगत पानी तानेर थप्नु पर्यो ।यस्तो क्रियाकलापबाट वातावरणमा प्रत्यक्ष असर पर्नेछ । यस्ता सबै समस्याका सामना त स्थानीय सरकार र नागरीकले नै गर्नु पर्नेछ । यसर्थ समयमै किन ध्यान नपुर्याउने !!
स्मरणकोलागिः मैले आज भन्दा तीन वर्ष अघि झापा जिल्ला वन कार्यालयका प्रमूखज्यू तथा सोही कार्यलयका इन्जिनियरहरूसँग चौनी सिमसार परियोजना बारे कुराकानी गर्दा वातावरण मैत्री बार- बिचबिचमा पिलर राखी करिब ९ फीट अग्लो मोटो तार जालीले सिमसार क्षेत्रलाई घेर्ने व्यवसथा गर्ने र वृक्षा रोपण कार्य प्रारम्भ गर्दा उपर्युक्त हुने सुझाउ दिएको थिएँ । तर अहिले कङ्क्रिटाइजेसन भइ रहेको सुन्दा अति उदासिन बनाएको हो ।
प्राचिन प्राकृतिक चौनी सिमसारमा यदि माथि उल्लेखित कुनै त्रूटी हुनलागेको भए समयमै सुधारियोस भन्ने मेरो आशय हो ।