मदन राजवँशी मनप्रीत .

गत मँगलबार गाउँपालिकाकै सभाहलमा आयोजित शिक्षामा अधिकार लगानी बृद्धि र राजनैतिक दलहरुको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा उपस्थित अधिकाँश सहभागिहरुले गौरीगञ्जका सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर खस्किनुको मुल कारण बिद्यालयहरुमा हुने राजनिती हो भनेका थिए ।

अन्तरकृयामा गाउँपालिकाको अध्यक्ष फुलबती राजवँशीले सँबोधन गर्ने बेला सम्म लगभग सबै शिक्षक कार्यक्रमबाट बाहिरि सकेका थिए । सो देखेर अध्यक्ष राजवैशीले सम्बोधनकै क्रममा गौरीगञ्जको शिक्षाको अबस्था कस्तो छ भन्ने कुरा उपस्थितीले पनि देखाउछ भनेर ब्यँग्य नै गरेकी थिएन् । सो अन्तरकृया सँबोधनका क्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले हाँकाहाँकी नै भनिन् – सामुदायिक बिद्यालयहरुको अनुगमनमा शिक्षकहरुले नै त्यसको बाधा र बिरोध गर्ने गरेका छन् ।

उनको यो भनाइलाइ पुष्टी गर्ने आधारपनि छ । किनकी दुइ बर्ष अघि गौरीगञ्ज ५ चिल्हाराको जनता आधारभुत बिद्यालयमा अनुगमन गरि बिद्यालयको बेथिती बारे गौरीगञ्ज दर्पणमा समाचार छापिएपछी बिद्यालय र प्रधानाध्यापकको गलती ढाकछोप गर्न राजनैतिक दलको खोल ओढेका शिक्षकहरु सँगठीत रुपमा सो अनुगमनको बिरुद्ध तत्कालिन गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष डेलिगेशन नै गएका थिए भने एक बर्ष अघि बिद्यालयहरुमा भइरहेको बेथिती र शिक्षकहरुको बढ्दो राजनैतिक गतिबिधि बिरुद्ध सामाजिक सञ्जालमा एक आम जनता नबिन गिरी ले प्रश्न उठाएपछी पनि राजनैतिक सँरक्षण पाएका केहि शिक्षकहरु सँगठित रुपमै गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर समक्ष नबिन गिरीको स्टाटस बिरुद्ध डेलिगेशन गएका थिए ।
गौरीगञ्जका नेता शिक्षक सँगठनहरुको दादागिरी का अनेक उदाहरण हरु छन् । शिक्षक यदि अन्यायमा परेको छ भने शिक्षकहरु सँगठित रुपमा त्यस बिरुद्ध आवाज उठाउनु जायज हो तर गौरीगञ्जमा के जायज के नाजायज भन्ने कुरा छ्ट्याउने क्षमता नै लगभग केहि राजनिती गर्ने शिक्षकहरुमा समाप्त भइसकेको देखिन्छ । गौरीगञ्जका सबै शिक्षक त्यस्ता छन् भन्ने पनि होइन आधा भन्दा धेरै शिक्षक राम्रा र सुझबुझ भएका छन् । तर राजनैतिक खोल ओढेका र राजनैतिक दलका सँरक्षण पाएका केहि यस्ता कथित नेता शिक्षकहरुको गौरीगञ्जमा बिगबिगी छ जसले अरुलाइ उचाल्ने थेचार्ने काम बाहेक अरु जानेको छैन । र यिनीहरुकै कारण राम्रा शिक्षकहरुपनि बदनाम भइरहेका छन् ।

शिक्षक पेशा सार्जजनिक र सम्मानजनक पेशा हो । लोकतान्त्रिक मुलकमा सार्वजनिक पद धारण गरेका ब्यक्तीको बारेमा आलोचना गर्न र प्रश्न उठाउन पाइन्छ । प्रश्न उठेपछी ति सार्वजनिक पद धारण गरेको ब्यक्तीले त्यसको जवाफ पनि दिन सक्नु पर्छ तर गौरीगञ्जका केहि कथित नेता शिक्षकहरुमा आलोचना सहन सक्ने क्षमता नै छैन । उनिहरुको गलती कसैले औल्याइदियो भने तिनिहरु त्यसलाइ सच्याउनुको साटो गलती औल्याउने माथि नै सँगठित रुपमा खनिने गरेका छन् । गलती सच्याएर आत्मालोचना गर्नुको साटो गौरीगञ्जमा नेता शिक्षकहरु द्वारा गलती ढाकछोप गर्न राजनैतिक र साँगठनिक दवाव दिने कुसँस्कार मौलाउदै गएको छ ।

यहि कारणले गौरिगञ्जका सामुदायिक बिद्यालयमा हुने बेथिती बिरुद्ध आम जनताहरु मुख खोल्न चाँहदैनन् । आम जनताको मौनतालाइ आफ्नो जीत ठानेर ति ठालु नेता शिक्षकहरु आत्मरतीमा रमाइरहेका छन् । गौरिगञ्जको सामुदागिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधार्न सबैभन्दा पहिला सँगठित राजनिती गर्ने शिक्षकहरुलाइ कारवाहिको दायरामा ल्याउनु पर्छ । शिक्षक अन्याय मै परेको हो र त्यस बिरुद्ध सँगठित रुपमा शिक्षकहरुले आवाज उठाएका छन् भने स्थानिय सरकारले त्यसको उचित सँबोधन गर्नु पर्छ तर सामुदायिक बिद्यालयको बेथिती र आप्नो कमीकमजोरी ढाकछोप गर्न आन्दोलन गर्ने एक एक शिक्षकहरुलाइ स्थानिय सरकारले कारवाहिको दायरामा ल्याउन सक्नु पर्छ । त्यस्ता अराजक तत्वहरुलाइ कम्तीमा आन्तरीक सरुवाको सजाय त दिनै पर्छ स्थानिय सरकारले ।

केहि दिन अघि गौरीगञ्ज गाउँपालिकाले नयाँ निती तथा कार्यक्रम बनाउदा शिक्षाको गुणस्तर सुधार्न आम जनताहरुबाट इमेल मार्फत सल्लाह र सुझाब मागेका थिए । तर जनताद्वारा दिएएका सल्लाह र सुझाव कार्यन्वयन हुन्छ भन्ने कुरामा आम जनता नै बिश्वस्त छैनन् । किनकी गौरीगञ्जमा शिक्षा ऐन बिपरित खुल्लमखुल्ला राजनैतिक दलको झोला भिरेर हिड्ने नेता शिक्षकहरुले कुनै न कुनै रुपमा गौरीगञ्जको स्थानिय सरकार नेतृत्व गर्ने पार्टी र स्थानिय सरकार प्रमुख कै सँरक्षण पाइरहेका छन् ।

यो लेख लेखे वापत यस स्तम्भकारका बिरुद्ध भोली गाउँपालिका अध्यक्ष र उपाध्यक्षका कार्यकक्षमा कथित नेता शिक्षकहरुको डेलिगेशन गयो भने अचम्म नमान्नु होला ।