सुमन राव यस वर्षको मिस इन्डियाको ताज पहिरिन सफल भएकी छन् । मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा भएको फाइनलमा गएको वर्षकी मिस इन्डिया अनुकृति दासले सुमनलाई मिस इन्डियाको ताज पहिराएकी हुन् । बलिउड तथा विभिन्न विदेशी सेलिब्रेटिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो जसमा हुमा कुरेशी, चित्रांगदा सिंह, दिया मिर्जा लगायतका कलाकार सहित २०१८ की मिस वल्र्ड भेनेसा पोन्से पनि सहभागी थिइन् ।
चार्टर्ड एकाउन्टेन्टको तयारी गरिरहेकी रावले जीवनमा अन्य मान्छेले अनिच्छा जाहेर गर्ने काम पनि गर्ने हिम्मत राख्ने बताएकी थिइन् । उनले सबैभन्दा बढी आफू आफ्नै आमाबाबुबाट प्रेरित रहेको पनि बताइन् । ‘यो टाइटल मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ रावले भनिन् ।
रावले यस प्रतियाेगितामा गत वर्ष पनि प्रतिस्पर्धा गरेकी थिइन्, जसमा उनी फस्ट रनरअप भएकी थिइन् । ३० सुन्दरीको सहभागिता रहेको मिस इन्डिया प्रतियोगितालाई करण जोहर, मनिष पाल र पूर्वमिसवर्ल्ड तथा मिस इन्डिया मानुषी छिल्लरले सञ्चालन गरेका थिए । प्रतियोगितामा फस्ट रनरअप उत्तर प्रदेशकी शिनता चौहान बनिन् भने सेकेन्ड रनरअप तेलंगनाकी सन्जना विज बनेकी थिइन् ।
यससँगै अाउने डिसेम्बर ७ देखि थाइल्याण्डमा अायाेजना हुने मिस वर्ल्डका लागि भारतकाे नेतृत्व गर्दै राव जाने छन् । उक्त प्रतियाेगितामा नेपालबाट यस वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठ जानेछिन् ।

