• चैत्र २५, २०८०
  • Madan Rajbanshi
  • 0

चैत २५, गौरादह । तीन दिन अगाडि मात्रै तीन वटा सहकारी फुटाएर चोरी भएको घटना सेलाउन नपाउदै शनिबार गौरादह ५ स्थित कन्चन्जङ्घा आधारभुत बिद्यालयमा पनि चोरी भएको हो । बिद्यालयको कार्यालय फोडेर चोरी भएको थाहा पाएपछि विद्यालय प्रअ तिर्थ कुमार भुजेलले सामाजिक सञ्जालमा त्यसको जानकारी गराउदै ल्याटप खोजिदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘६ थान ल्यापटप चोरी भएको छ खोजी गरिदिनुहुन अनुरोध गर्दछु।’

पछिल्लो दुई वर्ष देखि गौरादहमा पटकपटक यस्ता चोरीका घटनाहरु सार्वजनिक भएका छन् । गौरादह ३ स्थित धिमधिमेमा रहेको प्रवीण बस्नेतको पसलमा मध्यरातमा चोरी भएको थियो । पसलमा रहेको सिसिटिभी फुटेजमा चोरी हुँदै गरेको दृश्य कैद भएकोमा बस्नेतले उक्त फुटेज सार्वजनिक नै गरेका थिए । यथेष्ट प्रमाणहरु भेटिदा पनि चोरी गर्ने गिरोह पत्ता लाग्न सकेको छैन । एक महिना अघि मात्र गौरादह ९ बैगुन्धुरामा रहेको शुभलक्ष्मी सहकारी संस्थाको सेवा केन्द्रमा चोरी भयो । चोरीमा सकृय गिरोहले सिसिटिभीको तार समेत काट्न भ्याएको थियो ।