बैशाख २० काठमाण्डौ । भारतको अपस्ट्रिम सेवा प्रदायकबाट नेपालको इन्टरनेट लिंक काटिँदा बिहीवार दिउँसोदेखि अधिकांश निजी इन्टरनेट सेवाप्रदायकको सेवा प्रभावित भएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी रोकिदिएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायकले नेपाल सँगको इन्टरनेट लिँक काटेको हो । भारतिय सेवा प्रदायक कम्पनीले एक वर्षयता अन्तराष्ट्रिय ब्याण्डबिथको रकम भुक्तानी पाएका थिएनन् ।
इन्टरनेट डाउन वा स्लो हुँदा ठूलो संख्यामा सेवाग्राही प्रभावित भएका छन् भने इन्टरनेटको वैकल्पिक स्रोतको रूपमा मोबाइल डेटाको माग बढेको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने अधिकांश प्रयोगकर्ताले मोबाइल डेटा प्रयोग गरिरहेको उल्लेख गरेका छन् ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकेजमा मानिसहरूको चासो देखिएको छ । एनसेलले त सामाजिक सञ्जालमा एक पोस्ट राखेरै इन्टरनेटमा समस्या भए आफ्नो फोरजी सेवा प्रयोग गर्न प्रयोगकर्तालाई प्रेरित गरेको छ । यता नेपाल टेलिकमले पनि निजी इन्टरनेट सेवाप्रदायकले सेवा दिन नसकेको मौका छोपेर आफ्नो एनटी फाइबरको प्रचार गर्न थालेको छ । टेलिकमले ग्राहकलाई बल्क एसएमएस पठाएर आफ्नो फाइबर इन्टरनेटको विज्ञापन गरेको छ ।
टेकपाना बाट सँपादित रुपमा