नियमित रुपमा कार्यालय आउँदैनन गौरीगञ्जका योजना शाखा प्रमुख

चैत्र १४ झापा । गौरीगञ्ज गाउँपालिकाको माथ्लो तल्लाको पुर्वोत्तर कुनामा रहेको योजना शाखामा पस्दा एउटा अचम्मको सुचना देख्न पाइन्छ । शाखाको दक्षिणी भित्तामा एउटा सेतो पाटी झुण्ड्याइएको छ । जहाँ कालो मार्करले लेखिएको छ – अधिकृत स्तर छैठौ तहका कर्मचारीहरुको ३० कार्य दिने सेवा कालिन प्रशिक्षण कलबलगुडी झापा । २०८१ / ११ / ०३ देखि २०८१ / १२ / १६ गते सम्म काज ।


गौरीगञ्ज गाउँपालिकाका योजना शाखाका प्रमुख नारायण चँदारा यस्तो सुचना लेखेर बिगत डेढ महिना दखि कार्यालय आएका छैनन् । यस्तो सुचना लेखेर काजमा गएका उनले न त कसैलाइ सो शाखाको जिम्मेबारी तोकेका छन् न त कार्यालयले नै कसैलाइ लिखित रुपमा सो शाखाको जिम्मेबारी तोकेको छ । अहिले आर्थिक बर्षको अन्तिम चौमासिक चलिरहँदा योजना सँझौता गर्ने देखि लिएर फरफारक गर्ने कामको जिम्मेबारी सो शाखाको छ ।


केहि दिन अघि यस बारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालाइ प्रश्न गर्दा उनले शाखा प्रमुख नारायण चँदाराको अनुपस्थितीमा सो शाखाको जिम्मेबारी कहिले आफुले त कहिले बिरेन्द्र खड्काले लिने गरेको बताएका छन् । तर सो शाखाको जिम्मेबारी अघोषित रुपमा करारका कर्मचारी ज्ञानेन्द्र दँगालले पुरा गर्ने गरेको कुरा श्रोतले गौरीगञ्ज दर्पणलाइ बताएको छ । नियम अनुसार कुनै पनि शाखाको प्रमुखको जिम्मेबारी कुनैपनि करारको कर्मचारीलाइ दिन मिल्दैन । प्रमुख प्रशासकीय अधिकत थापाले ३० कार्यदिने सेवाकालिन तालिम भएका कारण कसैको बृती बिकास कार्यालयले रोक्न नमिल्ने बताएका छन् ।
योजना शाखा प्रमुख नायण चँदारा अहिले मात्र होइन उनि अरु बेला पनि प्राय कार्यालयमा अनुपस्थित नै रहने गरेका छन् । अबकास पाउन अब केहि बर्ष मात्र बाँकी रहँदा उनि कि त प्राय बिदामा बस्ने कि त भत्ता आउने कार्यक्रम वा तालिमका लागि काजमा बस्ने गरेको कुरा एक कर्मचारीले बताएका छन् ।
शाखा प्रमुख नै प्राय शाखामा नहुँदा शाखाको काम एकै चोटी थुप्रिने गरेको र कुनै कुनै बेला सेवा ग्राहीलाइ एउटै कामका लागि बारम्बार कार्यालय धाउनु पर्ने समस्या रहेको सेवाग्राहीहरु बताउँछन् ।
अहिले गाउँपालिका र मातहतका वडा कार्यालयहरुमा कर्मचारी अभाव भइरहेको बेला अधिकृत स्तरका यस्ता कर्मचारीहरुका कारण सेवा प्रवाहमा थप समस्या भइरहेको कुरा श्रोतको दाबी छ । जन निर्वाचित जनप्रतिनिधिहरु सेवा प्रवाह प्रति जिम्मेबार नहुँदा पछिल्लो समय गौरीगञ्ज गाउँपालिकामा कर्मचारीहरुको मनोमानी र सेवा प्रवाहमा बेथिती बढ्दै गएको छ ।