गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध बिच्छेको मुद्दा

पढ्न समय: 2 मिनेट

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध बिच्छेको मुद्दा

माघ १८ काठमाडौँ । गत बैशाखमा बिवाह बन्धनमा बाँधिएकी लोकप्रीय गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् ।

- Advertisement -
Ad image

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

एलिनाले गत वैशाख ५ गते आफूहरूबिच मायाप्रेमका आधारमा सामाजिक परम्परा अनुसार विवाह गरेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको प्रस्ट पारेकी छन् ।

‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ एलिनाले अदालतमा दिएको निवेदनमा भनिएको छ ।

बिवाह भएको १ महिना पछि आफु पति सँगै अष्ट्रेलिया गएको त्यसपछि आफू तीन महिनापछि नेपाल फर्किएको उल्लेख गर्दै एलिनाले निवेदनमा ‘नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् ।

पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु÷बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ ।

उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि उल्लेख गरेकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्