काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल प्रकाशित गरेको छ ।
आज बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।
यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेका छन् सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएको कुरा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।
सार्वजनिक गरिएको नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।
गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।