भदौ ७ काठमाडौं । मन्त्री परिषदको बैठकले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर त्यो सच्याउन सक्ने गरि नियमावली संशोधन गरेको छ । यो निर्णय सँगै जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।
यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।