विराटनगर: नयाँ आर्थिक नियम अनुसार नेपाली रूपैयाँ पनि ५ हजारभन्दा बढी साथमा लिएर हिड्न नपाइने भएको छ । नेपालमा सयभन्दा बढी दरका भारतीय नोट त प्रतिबन्ध थिए नै, अब आफ्नै देशको पैसा पनि ५ हजारभन्दा बढी नगद साथमा लिएर हिड्न नपाइने भएको हो ।

प्रहरीका अनुसार हालै सशस्त्र प्रहरीले विराटनगर–१० का विश्वनाथ राजवंशीलाई १० लाख २० हजार नेपाली रूपैयाँसहित पक्राउ गरेर विराटनगर भन्सार बुझाइएको थियो । त्यस्तै अर्का एक व्यक्तिलाई पनि ६ लाख ६५ हजार नगदसहित भन्सार बुझाइएको छ ।
मुद्दा दर्ताकै प्रक्रियामा रहेकाले पक्राउ परेका व्यक्तिको नाम र विवरण दिन विराटनगर भन्सारले मानेन । नयाँ आर्थिक नियम अनुसार तोकिएभन्दा बढी नगद बोकेर हिंडिरहेको बेलामा भन्सार परिसर या ५ किलोमिटर भित्र कोही व्यक्ति पक्राउ पर्यो भने निजलाई नगदसहित भन्सार बुझाउनु पर्दछ र सो मुद्दा भन्सारले नै हेर्छ ।
त्योभन्दा बाहिर पक्राउ गरिएको भए त्यस्तो मुद्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हेर्ने गर्छ । त्यस्तै विदेशी मुद्राको हकमा राजस्व अनुसन्धानले मुद्दा हेर्ने गर्दछ । नयाँ व्यवस्थाले अवैध तरिकाले पैसा कमाउन खोज्नेहरूलाई त समस्या पारेको छ भने त्यसबाट सर्वसाधारण पनि समस्यामा पर्ने देखिएको छ ।
नेपाल राष्ट्र बैकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले हस्ताक्षर गरी जारी गरेको सूचनामा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ को अधिकारी प्रयोग गरी सरोकारवाला सबैको जानकारीको लागि भन्ने उल्लेख गरिएको छ ।
सो सूचनाको पहिलो नम्बरमा नेपाली वा विदेश नागरिक अन्य मुलुकमा जाँदा र आउँदा प्रतिव्यक्ति नेपाली रूपैयाँ ५ हजारभन्दा बढी साथमा लैजान वा ल्याउन नपाउने भन्ने उल्लेख छ ।
त्यसैगरी विदेशी मुद्राको हकमा नेपाली र विदेशी नागरिकले ५ हजार डलर वा सो बराबरको अन्य परिवत्र्य मुद्रा साथमा ल्याएमा भन्सार घोषणा गरी प्रमाणित व्यवस्था गरिएका छ । तेस्रो बुदामा नेपाली नागरिकले विदेश जाँदा ५ हजार डलर भन्दाबढी बोक्न नपाउने र साथ रहेको ५ हजार डलरपनि राहदानीमा दरपीठ गरेको हुनुपर्ने छ ।
उदघोषडेली डटकमबाट

