उमाकान्त खनाल
केही महिना अघि भारतको बिहार राज्य र नेपालबीचको सिमानामा फस्टाउँदो मदिरा व्यापारको स्थिति बुझ्नका लागि झापाको गौरीगञ्ज नाका पुगें।
नाकामा भारतीय पक्षबाट केही समस्या हुन्छ कि भनेर जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरेर म त्यहाँ पुगें।
गौरीगञ्ज बजार छाडेपछि करिब पाँच किलोमिटर कच्चीबाटो हुँदै बिहारको फत्तेपुर र नेपालको गौरीगञ्ज नाका पुगें। मलाई लाग्यो विकासको बिहारी शैली भनेको नाकाबाटै चिल्ला सडक, खानेपानी, रेलमार्ग जस्ता भौतिक पूर्वाधार निर्माण रहेछन् क्यार।
सशस्त्र सीमा सुरक्षा बलका एकजना जवान भन्दै थिए, ‘यहाँ गाडी कम गुडछन्। तर सरकारले सबै स्थानमा यस्तै सडक बनाइदिएको छ।’
तर बारम्बार नेपाली राजनीतिक दलका नेताहरुले भन्ने गरेका छन् ‘हामी बिहारी शैलीको विकासको पक्षमा छैनौं।’
के रहेछ त खास बिहारी शैली भन्ने कौतुहल मनमा जाग्यो। हेर्दा बिहारी शैलीमा चिल्ला सडक, जता ततै जनतालाई चाहिने पूर्वाधार निर्माण, गरिबलाई उपचार निशूल्क, विद्यार्थीलाई उत्तिकै सुविधा हुन् जस्ता।
तर नेपालका नेताले भनेका चाहिँ के हुन्? उनीहरुले सोचेका के हुन्?
बिहारमा मदिरा उत्पादन, किन्न तथा पिउन पनि पाइँदैन। तर हामी तिनै बिहारका मानिसलाई लक्षित गरेर नाकामै मदिरा पसल खोलिदिन्छौं।
बिहारी शैलीको विकास नगर्ने भनेको सडक नबनाउने हो? जनतालाई न्यूनतम सुविधा नदिने हो? मदिराको अनियन्त्रित व्यापार गर्न दिइराख्ने हो?
हुनसक्छ निकै बर्ष अघि एक हिसाबको एकजना मान्छेले गरेको शासनमा बिहार हामी भन्दा पछाडि थियो होला। त्यहाँका सर्वसाधारणले न्यूनतम सुविधा उपभोग गर्न पाएनन् होला।
अहिलेको अवस्था हेर्न कोही गएको छ बिहार? यदि गएको हो भने त्यहाँको विकास मोडल सिक्ने कि पहिलाको कुरा सम्झेर उपहास गर्ने?
मैले यसो भनिरहँदा ममाथि खनिने मान्छेहरुको संख्या गतिलै हुन सक्ला।
एकपटक कचनकवल गाउँपालिकामा रहेको कचनकवल स्तम्भबाट अलिकति दक्षिणतिरबाट गनन ट्रेन गुडेको हेर्न आग्रह गर्छु।
एक पटक नेपाल भारतको सिमानामा पुगेर सिमानादेखि नै बिहारले के के गरेको रहेछ भनेर हेर्न आग्रह गर्छु।
सुनेको छु अचेल बिहारमा नेपालमा जस्तो जथाभावी सडकमा फोहोर फाल्न छाडिएको छ।
सुर्तीजन्य पदार्थको जथाभावी बिक्री पनि रोक्ने तयारीमा त्यहाँको सरकार रहेको त्यहाँबाट नेपाल आउनेहरुले बताउँदै आएका छन्।
बिहारी शैलीको विकास नगर्ने भनेर यिनै कुरा नगर्ने भनेका हुन्?
विकासको बिहारी मोडलले बिहारलाई निकै माथि पुर्याइसकेको अवस्था हामी छेउमा रहेकाहरुले देखेका छौं।
तर अझैपनि भन्न छाडदैनन् नेताहरु, ‘हामी विकासको बिहारी शैलीको पक्षमा छैनौं।’
देशसञ्चार डटकम बाट

