
- राजन मुकारुङ
हामी बस्ने गोठमै हो
गोठमै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्यो ।
पुग्नका लागि सरकारको छेउ
हामीले बाटो मागेनौं
पढ्नका लागि सरकारका कुरा
हामीले स्कूल मागेनौं
हामी बस्ने टहरो हो
टहरै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्यो ।
जूनकै उज्यालो हाम्रो बत्ती
हामीले बिजुली मागेनौं
पसिना पिउने हो हामीले
धारामा पानी मागेनौं
हाम्रै झुप्रो हो अस्पताल
झुप्रोमै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्यो ।
हामी चेपाङ आदिवासी
हामी यसै सुकुम्वासी
हामीले खाने घुँगी हो
घुँगीमै बन्दुक दाग्यो
हामीमा आगो बल्यो,
दन्दनी बल्यो !
हाम्रो लागि सरकार मर्यो ।
(यो कबिता, कबि राजन मुकारुङको फेसबुकबाट साभार गरेका छौँ )