मदन राजवँशी मनप्रीत

उबेला काण्ड नमच्चिएको चौथी चान्दको रात नै हुदैनथ्यो । हामी स्कुले केटाकेटीहरु भोलि पल्ट रात भरि भएका रमाइला काण्डहरु को बयान आफु भन्दा ठुला बडाहरुको मुखबाट खुब चाख मानि मानि सुन्थ्यौ । तिनताका गौरीगञ्ज बजार अहिले जस्तो घना थिएन । चोकमा थोरै पसलहरु थिए । दिउँसो बजारमा निस्किदा सबै चिनेकै अनुहारहरु भेटिन्थे । चोकको पुर्ब उत्तर कुनामा गोपाल दाइको स्टुडियो, त्यसको पुर्ब ईन्दरको किराना पसल, पश्चिम उत्तर कुनामा किशोर दाइको पान पसल, पुर्ब दक्षिण कुनामा राजकुमार दाइको पान पसल अनि केहि चिया पसल र मिठाइ पसलहरु थिए चोकमा । किशोर दाइको पान पसल र राजकुमार दाइको पान पसलमा दिनै भरी किशोर कुमार र पँकज उदासका मिठा गीत गजल हरु घन्की रहन्थे । कोइ कोइ बेला त यि दुइ पसल बिच कसले मिठो गित बजाउछ भन्ने प्रतिस्पर्धा नै चले जस्तो हुन्थो । मध्य भदौका गर्मि दिनहरुमा हामी हावा खादै यि पसलहरु अगाडी उभिएर क्यारेमबोर्ड खेलिरहेका ठिटाहरुको रमिता हेरि बस्थ्यौँ । एक किसिमले गौरीगञ्ज चोक गुल्जार थियो उ बेला ।
तिज सकिएको भोलि पल्ट चौथी चान्दको रात साँझ पर्न नपाउदै आमाले हामी साना केटाकेटीलाइ घर भित्र हुल्नु हुन्थ्यो – ‘आज चौथी को रात हो घरमा हानेको ढुँगा टाउकोमा पर्यो भने मरिन्छ ।’ निस्किन खोज्दा आमा कराउनु हुन्थ्यो । नभन्दै, साँझ अलिक छिप्पिएर अध्यारो भएपछी टिनको छानो माथि अरुले झट्टि हानेको ढुँगा को बर्सात जस्तै हुन्थ्यो । चोक देखि पुर्ब सबै भन्दा शुरुमा हाम्रै टिनको टाँडे घर थियो । चैथीको रात घरमा ढुँगा हान्दा घरधनीले गालि गरे त्यो आशिर्बाद हुन्छ भन्ने अहिले पनि सामाजिक मान्यता छ ।‌ त्यसैले ढुँगा हान्नेलाइ जति गालि गरेनी छानो बज्ने क्रम भने मध्यरात सम्म जारी रहन्थ्यो ।
त्यो रात घरको छानोमा ढुँगा हान्ने मात्र हैन , बारी बगैंचाका फलफुल चोर्ने देखि लिएर अन्य रमाइला काण्डहरु पनि हुन्थ्यो रात भरी । अनि बिहान सुनिन्थ्यो रातभरीका रमाइला घटनाहरु । हामी ठुला वडाका मुख बाट ति घटनाहरु रमाइलो कथा सुनेझै सुन्थ्यो । ति घटनाका कथाहरु कतिपय साच्चैका हुन्थे भने कतिपय बढाइचढाइ गरेर सुनाइन्थ्यो ।
उबेला गौरीगञ्जमा बिजुली आइसकेको थिएन । चोकका पसलेहरु भदौरे गर्मीका रातमा प्राय पसलको सिकुवामा डोरीको खटिया वा खाट लगाएर बाहिरै सुत्थे । अलि अलि सम्झना छ – सायद इन्दरकाका लाइ हुनु पर्छ , चौथीको रात निदाएको बेला खटिया सहितै केहि अल्लारे केटाहरुले गौरीया खोला छेउमा लगेर राखि दिएका थिए । अनि ब्युझिदा आफु कहाँ छु भनेर कहालिदै भागेको घटनाको कथा निकै दिन सम्म गौरीगञ्च चोकमा रमाइलोको बिषय बनेको थियो । एक पटक चौथो चान्दको रात चोकमा रामदाइको प्याट्रोल पम्प बाट तेलका खालि ड्रमहरु पुर्ब तिर रहेको नहरमा लगेर बगाइ दिएको सँझना छ । त्यो भन्दा कतिपय घिन लाग्दा काण्डहरु पनि मच्चिएको थियो । एक पटकको चौथिमा कुन चैले हो – कर्कलाको पातमा आची गरेर चोकका पसलका ताल्चा हरुमा बाँधि दिएका थिए । कसैको आँगनमा राखिएको जाँतोमा समेत आची गरेर पिसि दिएका घिन लाग्दा काण्डहरु पनि खुबै सुनिन्थ्यो चौथिको भोलि पल्ट ।
गौरीगञ्ज माबिको चौरमा उत्तर तिर लहरै नारिबलका रुखहरु थिए । चौथीको बिहान ति रुखमा एउटै नारीबल बाँकी रहदैनथ्यो । हाइस्कुलको नारीबल मात्र हैन उबेला चौथीको रात थुप्रैको वारीमा रहेका उखु, काँक्रा भोगटे र नारीबल रातारात सखाप हुन्थ्यो ।
५८ सालको दरबार हत्या काण्ड पछी गौरीगञ्जमा पनि माओबादीहरुको बिगबिगि बढ्न थाल्यो । रेडियो नेपालबाट मात्र सुनिने अपहरण र गोलीबारी का घटनाहरु छेउछेउ तिरै सुनिन थाले । असुरक्षाको कारण देखाउदै गौरीगञ्जको थाना सदरमुकाम सर्यो ।‌ रामप्रसादको भाटे सिनेमाहलमा रातिको शो बन्द भयो । राति १० बजेसम्म गुल्जार रहने चोक ७ नबज्दै सम्साँझै सुनसान हुन थाल्यो । त्यसपछीका सालहरुमा न त तिजको रमझम फर्कियो न त चौथो चान्दको रात काण्ड मच्चिएको सुनियो । देशमा गणतन्त्र आयो तर गौरीगञ्जको त्यो रमाइलो रौनक फर्किएन‌। अहिले त चौथीको रात आयो, गयो पत्तै हुदैन । तर चौथि चान्द आउदा बाल्यकालका यि सँझनाहरुले घरीघरी मनलाइ रोमाञ्चित बनाइ रहन्छ हरेक साल ।