दिपक मनाङ्गेले एन्फा अध्यक्षलाई मञ्च मै हाने झापड

पढ्न समय: 3 मिनेट

पोखरा । प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटन मंगलबार भएको छ । 

पोखरा महानगरपालिका स्थित लेखनाथको भण्डारढिक खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

- Advertisement -
Ad image

उद्धाटनको पहिलो खेल भन्दा पनि सांसदको झापडले चर्चित बनेको छ । कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले तीन झापड प्रहार गरेका छन् ।

उनले झापड हानेको स्वीकार पनि गरे र भने, “तीन झापड हानेको हुँ । अब बुद्धि आउला ।” 

हातपात किन भन्ने प्रश्नमा मनाङेले भने, “खेलाडीलाई ग्राउन्ड पनि दिएका छैनन् । गाउँबाट बोलाएर… मनाङबाट आएको सात दिन भयो । आफैँले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउन्ड दिएका छैनन्, गाडी दिएका छैनन् । यिनीहरुले के गरेको ? कहाँ सुत्ने केही थाहा छैन, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।”

एन्फा कास्कीका अध्यक्षलाई सुरुमा सम्झाएको तर उनले ढाँटेको, समकक्षीलाई वास्ता नगरेको उनले बताए ।

“आजबाट गेम छ, टाइसिट बल्ल हिजो आयो,” उनले भने ।

“त्यसलाई (एन्फा कास्कीको अध्यक्ष) लाई मैले राम्रोसँग सम्झाएको थिएँ, अझै ढाँट्दो रहेछ । ग्राउन्ड उनीहरुले मिलाइसक्यो रे, कहाँको भन्दा पुलिस ग्राउन्ड रे, मुखले भनेर हुन्छ हाम्लाई, पत्र आउन परेन ? त्यो चोरजस्तो काम गर्न भएन नि, पैसा ठग्ने बस्ने, यस्तो चोर रैछ यिनीहरु त,” उनको आक्रोश थियो ।

एन्फा मनाङका अध्यक्ष दावासिंह गुरुङ (निरज) ले पनि कास्कीका अध्यक्षसँग सम्पर्क हुन नसकेको बताए ।

“के भन्नु र खै, हामी यहाँ आएको यत्रो दिन भइसक्यो, ग्राउन्ड पनि मिलाउँदैन, फोन पनि उठाउँदैन । कमसेकम प्राक्टिसको लागि एउटा ग्राउन्ड त दिनुपथ्र्यो । बोलाएपछि अलिकति सहयोग त गर्नुपर्ने हो नि उहाँहरुले,” उनले भने ।

निरजका अनुसार मनाङका खेलाडीलाई अहिले पनि मनाङले नै व्यवस्थापन गरेको छ । 

जबकि एन्फा केन्द्रले लजिङ, फुडिङ, ट्रान्सपोर्टको व्यवस्थापन गर्ने बताएको थियो ।

“यसको पनि केही सल्लाह भएको छैन । खान, बस्नको कुरा त हाम्रो गाउँबाट आएपछि हामीले नै गरेका छौँ, तर आयोजकले ढाँट्न हुँदैन नि, बोलाएर यस्तो गर्ने ?” उनले प्रश्न गरे ।

मनाङेले एन्फामा भ्रष्टाचार बढेको समेत बताए ।

“एन्फामा एकदमै करप्सन बढेको छ, इलेक्सन हेर्नु न करोड करोड खर्च गरेको छ, कहाँबाट पैसा ल्याएको छ त ? यसरी नै पैसा खाने रहेछ के यिनीहरुले,” उनले भने ।

मुख्यमन्त्रीलाई पनि एन्फाले यसरी नै डुबाउन खोजेको उनको आरोप छ ।

“मुख्यमन्त्री कप भनेको छ, हामी त मुख्यमन्त्री कप भनेर आइदिएको हो, आफ्नै पार्टीको भनेपछि इज्जतको कुरा पनि हुन्छ । यिनीहरुले मुख्यमन्त्रीलाई नि डुबाउँछ । मुख्यमन्त्री कप त्यस्तो भण्डारा भन्ने ठाउँमा राख्ने हो त ?” उनले प्रश्न गरे,  “जबकि मुख्यमन्त्री भनेको स्टेटको चिफ हुन्छ, अनि केवलकार कप चाहिँ रंगशालामा राख्ने, मुख्यमन्त्री कप त्यहाँ लगेको छ । यस्तो बदमाशी गरेको छ यसले ।”

बाह्रखरी डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *