गौरीगञ्ज । कुनै पनि कामकाज वा कागजी दस्तावेजमा सरकारी छाप (स्टाम्प)को महत्वपुर्ण भुमिका हुन्छ । कतिपय कागजातहरु स्टाम्प बिना सक्कली प्रमाणित हुदैन भने कतिपय कागजातहरु स्टाम्प बिना सरकारी मान्यता पाउदैन । तर झापाको गौरीगञ्ज र कमल गाउँपालिकाको स्थानीय सरकारले शुरु देखिनै कार्यालय र सेवाग्राहिहरुको कागजातहरुमा गलत छाप (स्टाम्प) प्रयोग गरिरहेको पाइएको छ ।
स्थानीय तहको सेवा सञ्चालन तथा ब्यवस्थापन सँबन्धी आदेश २०७४ को अनुसुची ६ मा स्थानीय तहले कस्तो ढाँचाको छाप स्टाम्प प्रयोग गर्ने भन्ने बारे स्पष्ट सँग उल्लेख गरिएको छ । जस अनुसार गाउँपालिकाको हकमा नेपाल सरकारको लोगो मुनी गाउँपालिकाको नाम र त्यस मुनी गाउँ कार्यपालिकाको कार्यालय र तल ठेगाना लेख्नु पर्ने प्राबधान छ । तर गौरिगञ्ज गाउँपालिका र कमल गाउँपालिकाको स्टाम्पमा भने अनुसुची अनुसारको ब्यहोरा नै उल्लेख छैन । यि दुबै गाउँपालिकाले आफ्नो छापमा गाउँकार्यपालिकाको कार्यालय हुनु पर्ने ठाउमा गाउँपालिकाको कार्यालय मात्र लेखेका छन् ।
यस्तो गलत प्रकृतीको छाप गौरीगञ्ज गाउँपालिकामा शुरुका दिन देखिनै प्रयोगमा छ |
एक बर्ष अधि गौरीगञ्ज गापाले प्रयोग गरेको स्टाम्प
यसबारे गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्य सँग जिज्ञासा राख्दा उनले अहिले सम्म गलत छाप प्रयोग भइरहेको आफुलाइ थाहा नै नभएको प्रतिकृया लिए । “मैले पनि अहिले सम्म ध्यान दिएर गाउँपालिकाको छाप हेरेको थिइन । तर बास्तबमा यो गलत नै रहेछ” उनले भने । उनले गलती थाहा पाए लगतै मातहतका कर्मचारीहरुलाइ पुरानो स्टाम्प प्रयोग नगर्न र सच्याएर नया स्टाम्प बनाउन समेत निर्देशन दिइ सकेको कुरा गौरीगञ्ज दर्पणलाइ बताए ।
इलाका प्रसाशन कार्यालयका प्रमुख राजु दाहालले स्थानीय तहहरुले गलत ब्यहोराको स्टाम्प प्रयोग गर्न नहुने कुरा बताएका छन् ।
जिल्ला प्रसाशन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्थानीय तहहरुले अहिले सम्म प्रयोग गरेका गलत स्टाम्पका कागजात त सच्याउन सम्भव नभएको तर अब का दिनमा गलत छाप प्रयोग गर्न नहुने कुरा बताए । “स्टाम्प जस्तो सँबेदनशील कुरामा गलती गर्नु हुदैन । गलत छाप प्रयोग गरिरहेका स्थानीय तहहरुले तुरन्त आफ्नो छाप आदेश अनुसुची अनुसार सच्याउनु पर्दछ” उनले भने ।
स्थानीय तहको सेवा सञ्चालन तथा ब्यवस्थापन सँबन्धी आदेश २०७४ को अनुसुची ६
कमल गाउपालिकाको लेटरप्याडमा प्रयोग भएको स्टाम्पको ढाँचा
गौरीगञ्ज गाउँपालिकाको लेटरप्याडमा प्रयोग भईरहेको छाप






