मँसिर २४ गौरीगञ्ज । गत आइतबार राति गौरीगञ्ज २ लालमाटीकी एक सिमान्तकृत बर्गकी १२ वर्षिय बालिकालाइ जबरजस्ति करणी गर्न खोजेका सशस्त्र प्रहरीका असइ बिरुद्ध इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दर्ता भएको छ । महिला हिन्सा न्युनिकरण सञ्जालका सदस्यहरुको सहयोगमा आज दिउसो १ बजे तिर पिडित बालिका र उनकी आमाले सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) मा कार्यरत असइ सुर्य कटुवाल बिरुद्ध जाहेरी दर्ता गराएका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले उजुरी दर्ता भइसकेको र आजै पिडित बालिकालाइ मेडिकल जाँचका लागि चन्द्रगढी पठाएको कुरा बताएकाछन् । अदालतबाट पक्राउ आदेश माग भइ सकेको र आदेश पाउने बितिकै अभियुक्त कटुवाललाइ पक्राउ गर्ने जनाएका छन् ।
आइतबार राति साढे ९ बजेतिर घरमा सुत्ने तरखर गरिरहेको बेला आफुलाइ घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका कुरा पिडितले बताएकी छन् ।
जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिइन् । उनी चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आइपुगेकी थिइन् । आमाले लुगा समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । आमालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट भागेका थिए । कटुवाल मादक पदार्थ सेवन गरी आएका थिए । घरमा बालिका र उनकी आमा मात्र थिए । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीकामा टेलिभिजन हेर्न गएका थिए । घटनापछि पीडित परिवार त्रसित बनेको छ । उनीहरू अतिविपन्न परिवारका हुन् । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।
सोमबार पिडित परिवार जाहेरी दिन आउदा केहि व्यक्तिहरुले डर धम्की देखाएर उनिहरुलाइ बाटै बाट फर्काइदिएको कुरा बुझिएको छ ।
घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । ‘घटना थाहा पाएलगत्तै कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ पाण्डेले भने, ‘हामी आन्तरिक अनुसन्धान पनि गरिरहेका छौं । दोषी देखिए कानुनअनुसार कारबाही गर्न कुनै कुराले रोक्ने छैन ।’