६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् ।
शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’ धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले भने, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।’
चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानबाट आएकी उनलाई कोरोना संक्रमण भएको २० चैतमा पुष्टि भएको थियो । त्यसयता उनको धवलागिरि अस्पतालमा उपचार भइरहेको थियो । तर, उनमा कोरोनाको लक्षण देखिएको थिएन ।
डिस्चार्ज भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको बताइन् । ‘म यसलाई जितेरै छोड्छु, सञ्चो भएर छोड्छु भन्ने अठोट गरेँ’ उनले भनिन्, सबैभन्दा ठूलो हिम्मत र सकारात्मक सोच रहेछ ।’
उनले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी थिइन् । त्यहीकारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने लागेको भन्दै उनले भनिन्, मैले हिम्मत हारिन । आत्मबल बढाउँदै लगे र अन्त्यमा कोरोनालाई जितेर घर फर्कने भएकी छु ।’
घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
यसअघि हिजै कोरोनाको दोस्रो सँक्रमित काठमाण्डौकी १९ बर्षिया युवति सँक्रमण मुक्त भएर घर फर्केकी छिन् । उनि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत थिइन ।