
नेपालमा ‘अब देश मै छ रोजगारी’ अभियान शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो अभियान सार्वजनिक गरेका छन् । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सिप)को पहलमा बिहीबार भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त अभियानको सार्वजनिक गरेका हुन् ।
उक्त अभियान सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताए । अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, “म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिङ पहलले गति लिन पाउनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाजबीच परिकल्पना गरिएको सहकार्य निर्माण गर्नेछ । ”
यस अभियानअन्तर्गत आप्रवासी र आर्थिक रूपले वञ्चित, सामाजिक बहिष्कृत समूहहरूको जीवनयापन आवश्यकताको प्रक्रिया दिन अघिल्ला प्रयासमा निर्मित भएको जनाइएको छ । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली श्रमिक विदेशबाट फर्किने अनुमान गरिएको छ ।
रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले ‘अब देशमै छ रोजगारी’ अभियान र यूकेएड (सिप) र अन्यसँगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउन सामूहिक उत्प्रेरित गरिनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा श्रीनगर एग्रो फार्मकी मौषमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलताको सम्भावना रहेको बताए । पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा सीपयुक्त दक्ष रोजगारी सिर्जना र उद्यमशीलताका लागि उद्योग नेतृत्व संयुक्त लगानी मोडल र सहकार्यको आवश्यकता औँल्याए ।