काठमाडौँ – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता हुँदैछ ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि प्रहरीले महरालाई गएको अशोज १९ गते पक्राउ गरेको थियो
अभियोग पत्र दर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ । बिहीबार महरा पक्राउ परेको २६ औँ दिन हो र सरकारी वकिलको कार्यालय काठमाडौँले बिहीबार नै जिल्ला अदालत काठमाडौँमा महरा विरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ ।
प्रहरीले तिहार अघि नै अनुसन्धान पूरा गरेर आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सोही अनुसन्धान पत्रको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार उनी विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो ।
अभियोग पत्र दर्ता भएपछि बिहीबार नै जिल्ला अदालतमा थुनछेक बहस हुने सम्भावना छ । सो बहसमा महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या उनलाई रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे पक्ष–विपक्षले बहस गर्ने छन् ।
जबरजस्ती करणी प्रयासमा दोषी ठहर भएमा सो अनुसार तथा सार्वजनिक पदमा रहेका बेला कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप सजाय पनि हुनेछ ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् । महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।
त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।
तर पछिल्लो पटक पीडित भनिएकी महिलाले महराबाट आफूलाई कुनै किसिमको हिंसा नभएको भन्दै न्यायाधीशलाई निवेदन दिएकी छन् ।
यो खबर आज देससञ्चार डटकममा प्रकाशित भएको छ ।

