प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई पूर्णता दिन अल्छ्याइँ गरिरहेका बेला उनकै गृहजिल्ला झापामा भने पार्टी एकता प्रक्रियाले पूर्णता पाएको छ।
पूर्व एमाले र माओवादी केन्द्रले कुन कुन स्थानीय तहको नेतृत्व लिने भन्ने टुङ्गो लगाएर जिल्लास्तरको एकता प्रक्रियालाई विहीबार पूर्णता दिएका हुन्।
जस अनुसार झापाका १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह (३ नगरपालिका र ३ गाउँपालिका) को नेतृत्व माओवादी केन्द्रले पाएको छ भने ९ (५ नगरपालिका, ४ गाउँपालिका) को नेतृत्व पूर्व एमालेले पाएको छ।
पूर्व माओवादी केन्द्रले नेतृत्व पाएका नगरपालिकाहरुमा मेची नगर, भद्रपुर, शिवसताक्षी छन्। यसैगरी उसले पाएका गाउँपालिकामा हल्दिबारी,झापा,गौरीगन्ज छन्।
प्रम ओलीको गृहनगर दमकका अलावा गौरादह, कन्काई, बिर्तामोड अर्जुनधारा नगरपालिकाको नेतृत्व एमालेले पाएको छ। उसले नेतृत्व पाएका गाउँपालिकाहरुमा कमल, बाह्रदशी,केचनवल र बुद्धशान्ति छन्।
एकता प्रक्रिया छिटो टुङ्ग्याउन पार्टीभित्र दवाव परिरहेपनि प्रम ओलीले त्यसका लागि आवस्यक जाँगर देखाएका छैनन्।
त्यस्तो बेला उनकै गृहजिल्लामा चाहिँ एकता कार्यदलले यसरी स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर एकता प्रक्रियालाई टुङ्ग्याउने काम गरेको छ।
झापामा पार्टी एकता टुङ्ग्याउन केही महिना अघि एमालेबाट रविन कोइराला र चिन्तन पाठक तथा पूर्व माओवादी केन्द्रबाट झलकसिँह दर्लाली विजय साम्पाङ सहितको कार्यदल गठन गरिएको थियो।
श्रोत – नेपालखबर डटकम

