गौरीगञ्ज ४ कार्तिक झापाको गौरीगञ्ज स्थित छोटी भन्सार कार्यालयका एक कर्मचारीले थोरै रकमको रसिद काटेर बढी रकम वसुल्दै आएको पाइएको छ । कार्यालयका कास नबराज अधिकारीले भन्सार रसिद सँग दिइने प्रज्ञापन पत्रको पैसा लाग्छ भन्दै बढी रकम वसुल्दै आएका छन् । केहि दिन अघि यिनले भारतबाट सामान खरिद गरि साइकलमा खुद्रा ब्यापार गर्न आएका जोरीफ सेख सँग रु ५२५ को भन्सार रसिद काटी रु ८ सय वसुलेको अब्दुल सेख सँग रु २६३ को रसिद काटी रु ४०० लिएको र अजिम सँग रु १३२ को रसिद काटेर रु २०० बसुलेको कुरा पिडितहरुले बताएका छन् ।
कास अधिकारी प्राय आफ्नो कार्यालयमा बस्दैनन् । उनि गौरीगञ्ज ६ स्थित कृषि क्वारेन्टाइन को अफिसमा बसेर कमाउ धन्दा चलाइरहेका हुन्छन् । यो बिषयमा भेट्न जादा पनि उनि क्वारेन्टाइन कै अध्यारो कोठामा भेटिए ।
रसिद मा उल्लेख गरे भन्दा बढी रकम किन लिएको भनि गुनासो राख्दा उनले प्रज्ञापन पत्रलाइ इङ्गित गर्दै भने — “मैले फारमको पैसा लिएको हुँ ।” फारमको पैसा लिदा रसिद दिनु पर्दैन भन्ने प्रश्नमा उनले फारमको रसिद पनि हुदैन र यसको हिसाब किताब पनि हुदैन भन्ने गैरजिम्मेवार जवाफ दिएका छन् ।
छोटी भन्सार गौरीगञ्जका नासु सुकाराम मण्डलले भन्सार रसिद भन्दा बाहेक प्रज्ञापन पत्रको कुनै शुल्क नलाग्ने कुरा बताएका छन् ।
हेर्नुहोस भिडियो

