रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी कान्छी छोरी अल्पना रेग्मीले दिएकाछन् ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गराएकि थिइन् ।
२००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्ेका थिए । उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमा गीत गाएका थिए ।
उनका रेकर्ड भएका गीतहरूमा ‘मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी घरमा मेरो जाऊ’, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुको शीतल बतास’लगायत छन्।
नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक क्षेत्रबाट योगदान गरेका थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेकोमा उनलाई प्रजातन्त्र सेनानीको रुपमा पनि स्मरण गरिन्छ ।
रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो । उनको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।
उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन् ।