रबिन्द्र बराल
पुस १७, रँगेली । मोरङको रंगेली बाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित गाँजा बरामद गरेको छ । रंगेली १ बबिया बाट गाँजा सहित दुई जना लाई प्रहरीले पक्राउ गरेको छ। बबिया घर भएका मनोज राजवंशी को ग्वाली, कुखुराको खोर र पराल को माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेली बाट खटिएको संयुक्त टोलीले निजको घर खानतलासी गर्दा गाँजा फेला परेको हो। १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएकाे छ। गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशी सहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई समेत प्रहरीले पक्राउ गरेको छ। राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरु विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी प्रहरीको माेरङ प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। उनीहरू दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। धनकुटाबाट ल्याएर गाँजा भारत तिर लैजाने तयारी गरिएको हुनसक्ने प्रहरीको अनुमान समेत गरेका छन।