पुस २३ गौरीगञ्ज । झापा र मोरँगमा उल्लेख्य बसोबास रहेको आदिबासी सन्थालहरुको महान पर्ब दिसम सोहराय शुरु भएको छ । माघ १ गते सम्म मनाइने यस कार्यक्रमको उपलक्ष्यमा गौरीगञ्जमा बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सन्थाल आदिबासी उत्थान सँघ गौरीगञ्ज गाउँकमिटीको आयोजनामा गौरीगञ्ज माबिमा भएको कार्यक्रममा सन्थाल जातिका परम्परागत लोक नृत्य तथा आधुनिक नृत्य लगायतका साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । प्र।तिनिधि सभा सदस्य सोनु मुर्मुको प्रमुख आतिथ्यता तथा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको बिशेष आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा सन्थाल समुदायका १५ जना जेष्ठ नागरिकहरु र गाउँपालिका भरीका सामुदायिक बिद्यालयहरुमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार सन्थाल बिद्यार्थीहरुलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सोनु मुर्मुले आफ्नो परम्परा र सँस्कृतीको सँरक्षण गर्न आफै जुट्नु पर्ने कुरा बताइन् । त्यसैगरि गाउँपालिका उपाध्यक्ष कुँवरले सोहराय पर्वको उपलक्ष्यमा गाउँपालिकाले गत बर्ष झै यस बर्षपनि पुस २५ गते बिदा दिने निर्णय गरेको कुरा बताइन् ।

नेपाल सन्थाल आदिबासी सँघ गौरीगञ्जका अध्यक्ष राइसिन हेमरमको सभापतित्वमा भएको कार्यक्रममा परम्परागत सोहराय नाच प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासंघ गौरीगञ्जका अध्यक्ष गँगा राजवंशी,राजवँशी समाज विकास समिति गौरीगञ्जका अध्यक्ष गोपाल राजवंशी, तथा नेवार समुदायका अगुवा दुर्लभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।