माघ २५, बिराटनगर । विराट गोल्डकपको तयारी तीव्र पारिएको छ । त्यसका लागि विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तिव्रता दिएको जनाएको छ ।
प्रतियोगिता बिराटनगर को शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने भएको आयोजकले बताएको छ । रातको समयमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् ।
नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित २ करोड ५० लाख खर्च लाग्ने कोइरालाले बताएका छन् ।
प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् । २ वटा विदेशी टिमलाई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए ।
पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो ।
एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ । सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने कुरा आयोजकले जनाएको छ ।तस्विर – अनलाइन