२३ कात्तिक, धनगढी । डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए ।

उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प डोटीलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशसम्मको जिल्लामा महसुस गरिएको बताइएको छ ।