माघ २६, रौतहट। रौतहटमा खेतमा शौच गरेको निहुँमा कुटपिट हुँदा एक महिला को मृत्यु भएको छ । जिल्लाको मौलापुर नगरपालिका–९ सोनरनियामा खेतमा शौच गरेको निहुमा झडप हुँदा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले बताए ।

घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताएका छन् ।

यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट ईन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको टोलीले भोला यादवको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुख्य आरोपि भोला भने घटना लगत्तै फरार भएका थिए ।