रिटायर्ड जिन्दगी (कबिता)

पढ्न समय: 2 मिनेट


- Advertisement -
Ad image

–मीनकुमार नवोदित

नागरिकताको फोटोझैं
धमिलो हुँदै गइरहेछन्
जिन्दगीका यादहरू ।

सम्झन्छु–
विद्यालय पढ्दाका क्षण
साथीले ल्याइदिएको आरु, बखडा र अम्बा
कति मीठो लाग्थ्यो
कापी–कलम नकिनेरै
खाइन्थ्यो पाइनापल बिस्कुट
ढुकुरको बचेरा खोज्दै हिंडिन्थ्यो जंगलैभरि
कटुस टिप्दै हिंडिन्थ्यो खोल्सैखोल्सा
विद्यालयबाट फर्कंदा
चोरेर खाइन्थ्यो बदाम, कांक्रा र सुन्तला
आहा ! कति रमाइलो थियो जिन्दगी ।

बा’ले बोकिदिनुभएको थियो
जिन्दगीका सबै भारि
बाँसझैं सिधा लाग्थ्यो
ऊ बेला जिन्दगीको यात्रा ।

क्याम्पस जान थालेपछि
अलि बाङ्गो लाग्यो जिन्दगी
कहिले चामल, कहिले तरकारी
अनि नून र तेल नहुँदा
अभावलाई सिरानीमा थिचेर
अनिंदो सुतियो कति रात ।

सबभन्दा तनाव हुन्थ्यो
स्टोप बिग्रिएर एकातिरमात्रै भ्यारर गर्दा
चामल सकिएकै दिन
पाहुना लाग्न साथी टुप्लुक्क आइपुग्दा
हरेक बिहान ट्वाइलेटमा लाइन लाग्दा
महिना लाग्नुअगावै घरबेटीले भाडा माग्दा
क्याम्पसबाट फर्कंदा पसलेले बोलाउँदा
अनि लाग्न थाल्यो जिन्दगी–
अभावैअभावको पहाड रहेछ
उधारो बाँचेर हाताहाती मुस्कुराउनु रहेछ ।

सोच्थें–
पढाइसकेपछि त आउनेछ स्वर्णिम समय
तर, झन्झन् मुटुको इसीजीझै
हुन थाल्यो जिन्दगी ।

ऊर्जाशील समय बेचें सरकारलाई
सस्तो जिन्दगी बाँचेर महँगो घर बनाएँ
घडेरी जोडें ठाउँ–ठाउँमा
तलब बचाएर लगाएँ शेयरमा
थोरै खर्च गरेर बचाएँ धेरै
दुखै गरेर हुर्काएँ छोराछोरी
विदेश पठाएँ अध्ययनका लागि
अनि सोचें अब त पक्कै सुरु भयो सुखका दिन
अझ सोंचे–
रिटायर्डपछि लाग्नेछ
जिन्दगीमा सुखको पारिलो घाम
महिनैपिच्छे जम्मा हुनेछ बैंकमा पेन्सन
र बसीबसी खानेछु मन परेका परिकार
घुम्न निस्कनेछु देश–विदेश ।

धेरै भयो रिहायर्ड भएको पनि
हटेको छ अभावको तुँवालो
तीनतले घरको दोस्रो तलाको
बरण्डामा छु यतिबेला
नियालिरहेछु क्षितिजलाई
वसन्त हराएको मौसमझैं
उराठ लाग्छ आफ्नै जिन्दगी ।

श्रीमतीलाई देख्न थालेको छु धमिलो
मधुरो लाग्न थालेको छ सहरको कोलाहल
एकाएक बढेको छ सुगर र प्रेसर
मकैको च्याङ्लामा कटाउनु परेको छ दिन
नसुत्नु भनेको छ डाक्टरले नरम ओछ्यानमा
भेट्न जानु परेको छ डाक्टरलाई हप्तैपिच्छे
जसरी टाढाकी प्रेमिकालाई भेट्न
हतारिंदै जान्छ प्रेमी ।

गुँड छाडेर गएका बचेराझैं
भएका छन् छोराछोरी
स्काइपबाटै लगाइदिनु पर्छ दसैंको टीका
भाइबरबाटै हेर्छन् बा र आमाको मुख
बरु घर बेचेर यतै आउनू भन्छन्
अब पक्का जान त जाने हो
हेरौं पहिला कालले लान्छ कि छोराछोरीले ?

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *