सरस्वती पुजाकै दिन गौरीगञ्जको मन्दिरमा न त सरसफाई न त रौनक

मदन राजवंशी मनप्रीत

गौरीगञ्ज माध्यमिक विद्यालयको हाता भित्र रहेको गौरीगञ्जकै एक मात्र सरस्वती मन्दिरको रौनक अघिल्ला बर्षहरुका श्री पञ्चमी हरुमा बेग्लै हुन्थे । यस क्षेत्रका जुनै बिद्यालय वा कलेज का बिद्यार्थी पनि सरस्वती पुजा को दिन यस मन्दिरमा आएर सरस्वती माताको दर्शन र पुजा अर्चना गरेर जान्थे । तर यस वर्ष भने यो मन्दिर सुनसान खण्डहर जस्तो बनेको छ ।

यसपाली यस मन्दिरमा न त सरसफाई गरिएकोछ नत रँगरोगन गरि झिलिमिली पतका नै टाँगिएको छ । मन्दिर परिसरमा झार जँगल असरल्लै उम्रिएका छन् भने हुलाकी सडक बिस्तार का क्रममा स्कुलको पर्खाल भत्काउदा फालिएका ईटाका टुक्रा र थुपारिएको सिमेन्ट कङ्क्रिट का ढिस्का हरुले यो मन्दिर लाई कुनै पुरानो खण्डहर जस्तै प्रतित गराइ रहेको छ ।

नजिकैको निजी बोर्डिङ स्कुल हरुमा सरस्वती पुजा को रौनक र रमझम देखिएपनि कोरोना प्रोटोकलको कारण देखाउदै यो बर्ष गौरीगञ्ज माबि र खजुरगाछी माबि गायतका सरकारी बिद्यालय हरुमा सरस्वती पुजा नै आयोजना गरिएन ।

बिहान देखि बन्द राखिएको यो मन्दिर नौ बजे तिर एक छिनको लागि मात्र खोलियो । त्यसपछि फाट्ट फुट्ट आईरहेका बिद्यार्थी तथा भक्तजनहरु ढोका बाहिर बाटै पुजा गरेर फर्किन बाध्य भएका थिए ।

श्री पञ्चमी सालमा एक पटक मात्र आउने विद्यार्थी हरुको सबै भन्दा ठूलो उत्सब हो । यत्रो ठुलो उत्सवको दिन बिद्यालय ले पुजा आयोजना नगरे पनि मन्दिर सरसफाई नगर्नु, मन्दिर वरपरको माटो नसम्याउनु तथा पुजाको दिन पनि बिहान चार घण्टा जति मन्दिर को ढोका नखोलिदिनु ले दिनदिनै गौरीगञ्ज माबिको साख र प्रतिष्ठा गिर्दै गइरहेको भान हुन्छ ।

गौरीगञ्जमा साप्ताहिक हाटबजार हरु खुल्ला रहेको बेला कोरोना सँक्रमण को कारण देखाउदै सरस्वती पुजाको एक दिन मन्दिर लाई फोहर र सुनसान बनाएर राख्नको कुनै औचित्य देखिँदैन ।