
कार्तिक २९, दमक । गौरादह नगरपालिका वडा न.५ का ४६ बर्षिय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरि हत्याका आरोपीलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले गत कार्तिक ११ गते घरदेखि एकाएक हराएका मियाको हत्या अभियोगमा छिमेकी तीन महिलासहित पाँच जना पक्राउ परेको जानकारी दिए ।
पक्राउ पर्नेमा गौरादह ५ का ३१ बर्षिय महम्मद सद्दाम,उनकी २८ बर्षिया श्रीमती सुमेरन खातुन ,सोहि वडाका २६ बर्षिय महम्मद सुलेमान ,उनकी २२ बर्षिया श्रीमती रुक्सार खातुन र महम्मदकी बहिनी ३८ बर्षिया कुर्समान खातुन रहेका छन् । पक्राउ परेका पाँचै जना इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
उनका अनुसार गत कात्र्तिक ११ गते विहान ११ वजेदेखि हराएका मिया खोजतलासका क्रममा गत कात्तिक २६ गते प्रहरीको टोलीले गौरादह ५ स्थित महमद सद्दामको घर खानतलासी लिने क्रममा घरको चर्पीकाे सेफटी ट्यांकीमा दुर्गन्धित अबस्थामा मृत भेटिएका थिए ।
परिवारिक रिसइवीका कारण अभियुक्तको समूहले योजना बनाएर मियाको हत्या गरेको हुन सक्ने प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनामा अभियुक्तले धारिलो हतियार प्रहार गरि बोरामा लाश लुकाएर सेफटीटंयाकीमा फालेको प्रहरीको भनाई छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको उनले बताए ।