
माघ २५ बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।
बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागत तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् । उनले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरु आफूले व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गरे । त्यस्तै वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले आफूले गर्नुपर्ने सहयोग गर्ने बताए भने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आबश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गरे ।
हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेका छन् । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती वयोबृद्धा चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको समितिले जनाएको छ । उजारु राजवंशीको घर निर्माण गर्नका लागि गत भदौमा समिति गठन गरिएको थियो । दाता परिवारको दुःख देखेर आफूहरुको अगुवाई र सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको संयोजक पाठकले बताए । उनले घर निर्माणका लागि सहयोग गर्न सबै सहयोगी हातहरुलाई आग्रह गर्दै त्यसका लागि लुम्बिनी विकास बैंकको बिर्तामोड शाखामा उजारु राजवंसी भवन निर्माण समितिको खाता नं ०७२००१२०२४२१५८०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिएका छन् ।
(प्रतिदिन डेली डटकम)