
चैत ११, झापा । केहि समयदेखि बन्द गरिएका झापाका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई फेरि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । मंगलवार जिल्ला कोभिड– १९ विपद् ब्यवस्थापन केन्द्र झापाको बैठकले जिल्लामा पहिले सञ्चालनमा रहेका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
संघीय सरकारको निर्देशन अनुसार कोभिड १९ को जोखिम नियन्त्रणका लागि ६ बुँदे निर्णयहरु गरेको प्रजिअ तिम्सिनाले बताए । ‘जुनसुकै बेला क्वारेन्टाइन र आइसोलेशन केन्द्रको प्रयोग गर्नुपर्ने हुन सक्छ त्यसैले तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरेका छौं ।’
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गर्न दिने र नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने ब्यवस्था गरिएको छ ।
बैठकले कोभिड १९ संक्रमणको अवस्थालाई ध्यानमा राखी नजिकै आइरहेको पर्वमा समेत भिडभाड नगर्न नगराउन सबैलाई अनुरोध गरेका छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन समेत पनि सबैलाई अनुरोध गरेको प्रजिअको भनाई छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको र खुला सिमानाका कारण नेपालमा पनि उच्च जोखिम देखिएकाले संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक सावधानी सहितका निर्णयहरु गरिएको कुरा बताएकोछ ।