पुस १५ गौरीगञ्ज । पूर्वप्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने कुरा बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र अन्तर्गतको झापाको गौरीगञ्ज पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

“मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने ।

गौरीगञ्जको अतिथि सदनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरेका छन् । ‘तपाईँहरूलाई थाहै छ । मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले- उनले भने ।

उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेका छन् । अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरु केही छैन ।’यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।