चैत ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ६ खजुरगाछीमा धार्मिक मेलाको आडमा जुवा जन्य प्रतिबन्धित खेलहरु खुल्लम खुल्ला सञ्चालन भइरहेको पाइएको छ । गत आइतबार देखि शुरु भएको बिष्णु महायज्ञको आडमा बिभिन्न ४ वटा प्रतिबन्धित जुवा जन्य खेलहरु खुल्लाम खुल्ला सञ्चालन भइरहँदा समेत इलाका प्रशासन कार्यालय इलाका प्रहरी कार्यालय र गौरीगञ्ज गाउँपालिका तै चुप मै चुपको अबस्थामा देखिएका छन् । दसै तिहार जस्ता चाँडबाँडमा स्थानियहरुले मनोरञ्जनका लागि ढाइस जस्ता खेल सञ्चालन गर्दा ति खेल सामग्रीहरु जफत गर्ने प्रहरी प्रसाशन अहिले धार्मिक मेलामा दुधको साक्षी बिरालो बनेझै गरिरहेका छन् ।
गत शनिबारदेखि वडा नँ ६ खजुरगाछीमा अखण्ड बिष्णु महायज्ञ सञ्चालन भइरहेको छ भने यज्ञ भइरहेको स्थानको आडैमा नहर पुर्व चर्खा, लक्की सेभेन , अँक लेखिएको ढाइस, तिर हान्ने लगायतका ४ प्रकारका प्रतिबन्धित जुवा जन्य खेलहरु खुल्लम खुल्ला सञ्चालन भइहेको छ तर प्रहरी प्रसाशन यो कुरामा मौन साँधेर बसेका छन् । ति जुवा जन्य खेलहरुमा किशोर उमेरका युवाहरु झुम्मिएको देख्न सकिन्छ ।
एकातिर गौरीगञ्ज गाउँपालिका इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको सहकार्यमा अहिले गौरीगञ्जमा लागु औषध नियन्त्रण सँबन्धी अभियान चलाइरहेको छ भने अहिले ति लागु पदार्थ दुर्ब्यसनीहरुलाइ नै टेवा पुग्ने खालका जुवाजन्य खेलहरु खुल्लाम खुल्ला सञ्चालन गर्न दिनुले यि तीन वटै कार्यालयको दोहोरो चरित्र छर्लँग भएको छ ।
यसबारे इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुँडामणी आपागाइ सँग प्रतिकृया लिन खोज्दा उनको मोबाइल अफ रहेको छ भने जिल्ला प्रसाशन कार्यालयमा जिज्ञासा राख्दा कार्यालयले धनको हार जीत हुने खालका जुवा जन्य खेलहरु सञ्चालन गर्न नपाइने प्रावधान रहेको र त्यस्तो भइरहेको पाइए कार्वाही गरिने जनाएको छ ।