चैत १७ गौरीगञ्ज । जङ्गली हात्तीको आक्रमणबाट झापामा फेरि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन् ।
छिमेकी पवित्रा बेघाको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११:५०मा एउटा हात्ती आएको थियो। हात्ती देखेपछि खड्ग माया भाग्न खोजिन्। तर, हात्तीले मायालाई लखेट्दै आक्रमण गरेको थिए।
हात्तीको सुँडले खड्ग मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनिको भाग क्षत बिक्षत गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। शिवसताक्षी नगरपालिका-११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा चैत १४ गते साँझ दाउरा लिन गएका शिवसताक्षी-११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।