गौरीगञ्जको पालिका स्तरीय परीक्षाको गोपनियता र बिश्वसनियता माथि प्रश्नै प्रश्न ।
मदन राजवँशी मनप्रीत
गौरीगञ्ज गाउँपालिकाको शिक्षा समितीले यस पटक कक्षा ५ र ८ को परीक्षा पालिका स्तरबाट सञ्चालन गर्यो । पालिका स्तरबाट सञ्चालन गर्ने परीक्षाको उत्तरकपि जाँचदेखि लिएर नतिजा प्रकाशन सम्मको जिम्मेबारी पालिकाको शिक्षा समितीको हुन्छ र पालिका स्तरीय परीक्षाको नतिजा पालिकाको शिक्षा समितीले प्रकाशित नगरेसम्म बिद्यायले प्रकाशित गर्न मिल्दैन । अर्थात नतिजामा के छ भन्ने कुरा पालिकाले नतिजा प्रकाशित गर्नु भन्दा अगाबै सँबन्धित बिद्यालयलाइ जानकारी हुनु भनेको नतिजामा धाँधली अर्थात घुसपैठ हुनु हो ।
यो समाचार रिपोर्ट तयार गरुञ्जेलसम्म गौरीगञ्ज गाउपालिकाको शिक्षा समितीले कक्षा ५ र ८ को नतिजा आधिकारिक रुपमा प्रकाशित गरेको छैन । तर पालिकाले नतिजा प्रकाशित गर्नु अगाबै गौरीगञ्जका केहि सामुदायिक बिद्यालयहरुले कक्षा ५ को पालिका स्तरीय परीक्षाको नतिजा प्रकाशित गरिसकेका छन् ।
वडा नँ ६ स्थित खजुरगाछी माबिको कक्षा ५ को नतिजा हिजो आइतबार नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती सेयर भइरहेको छ भने वडा नँ ३ स्थित गौरीगञ्ज माबिले समेत हिजै कक्षा ५ को नतिजा बिदयालयमा टाँस गरेको कुरा बिद्यालयका प्रअ गोबिन्द घिमिरेले स्विकारेका छन् ।
पालिका स्तरीय परीक्षाको नतिजा पालिकाले प्रकाशित गर्नु अगाबै चुहिनुले पालिकाको परीक्षा सँबन्धी गोपनियता माथि प्रश्न चिन्ह खडा गरेको छ । यस बिषयमा शिक्षा शाखा गौरीगञ्जका प्रमुख टँक खरेल सँग जिज्ञासा राख्दा उनले पालिका स्तरीय परीक्षाको नतिजा पालिकाले प्रकाशित नगरेसम्म बिद्यालयले गर्न नमिल्ने बताएका छन् । पालिकाले प्रकाशित गर्नु अगाबै कक्षा ५ को नतिजा सामुदायिक बिद्यालयहरुले कसरी प्रकाशित गरे भन्ने प्रश्नमा उनल हिजो खजुरगाछी माबिले मात्र गरेको हो र त्यो पनि हतारमा भुल बस भएको हो भन्ने टालटुले जवाफ दिएका छन् । जवकी हिजै गौरीगञ्ज माबिले समेत नतिजा टाँस गरिसकेको थियो । नतिजा चाँहि पालिकाबाट कसरी चुहियो त भन्ने प्रश्नमा प्रमुख खरेलले कक्षा ५ को परीक्षा पालिकाले लिएपनि कपी जाँच्ने काम सँबन्धीत बिद्यालयहरुलाइ नै जिम्मा दिइएकाले उनिहरुले आन्तरीक रुपमा नतिजा प्रकाशित गरेको हुन सक्ने जवाफ उनले दिएका छन् । जवकी पालिका सतरबाट लिएको परीक्षाको कपि जाँच्ने काम साबन्धित बिद्यालयले आफै गर्न सान्दर्भिक नै देखिदैन ।

आफ्नो बिद्यालयको कपि जाँच सँबन्धित बिद्यालयले आफै गर्ने हो भने पालिका स्तरीय परीक्षाको महत्व के रहन्छ र भन्ने प्रश्नमा शिक्षा प्रमुख खरेलले यो पहिलो बर्ष भएकाले प्राबिधिक त्रुटी भएको कुरा स्विकारेका छन् ।
परीक्षा जस्तो सँबेदनशील कुरामा गोपनियता नै भँग हुने गरी ख्याल ठट्टाको रुपमा लिएको नतिजा प्रकाशनले पालिका भित्रको शिक्षाको गुणस्तरीयता र परीक्षाको साबेदनशीलता र गोपनियता माथि प्रश्न त खडा गरेको छ नै । यस बाहेक पालिका स्तरीय परीक्षाको महत्व र नतिजाको बिश्वसनियता माथि पनि शँका उब्जाएको छ ।
नमुना बिद्यालयबाट नतिजामै भाषाको हुर्मत
नमुना बिद्यालयको छनौटमा परेको खजुरगाछी माबिले परीक्षाको नतिजा प्रकाशनमा नेपाली भाषाको हुर्मत लिएको छ । हिजो आइतबार खजुरगाछी माबिले प्रकाशित गरेको नतिजामा बिद्यार्थीहरुको नाम थर तथा बर्ण बिन्याँस समेत बिगारेर नतिजा प्रकाशित गरेको छ । बिद्यार्थीले परीक्षामा उत्तर लेख्दा ह्रस्व दीर्घ वा बर्णबिन्यास बिगारेमा प्राप्ताङ्क घटाउने नियम छ । तर भाषागत शुद्धता सिकाउने बिद्यालयले आफै नतिजा प्रकाशित गर्दा भाषागत त्रुटीलाइ नजर अँदाज गर्नुले सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरलाइ नङ्ग्याएको छ । अचम्मको कुरा के छ भने कम्प्युटरको जमानामा समेत कम्प्युटर प्रिन्ट गरिसकेको पेजमा पेनले केरमेट गरेको नतिजा सार्वजनिक गरिएको छ भने सो बर्णबिन्यास बिग्रेको र केरमेट गरेकै नतिजामा बर्ग शिक्षक र प्रधानाध्यापकले हस्ताक्षर गरेर नतिजा प्रमाणित गरेको देखिन्छ । बिद्यालयले नतिजामा बिद्यार्थीले प्राप्त गरेको जिपिए समेत उल्लेख गरेको छैन । यसबारे बिद्यालयका प्रअ गहेन्द्र बिक्रम शाहले हिजै नतिजा प्रकाशित गर्नु पर्ने बाध्यता रहेकाले हतरमा नतिजा प्रकाशित गर्दा त्रुटी भएको जनाएका छन् ।
डिजिटर युगमा हस्त लिखित नतिजा
त्यस्तै गौरीगञ्ज माबिमा समेत दुइ दर्जन भन्दा बढि कम्प्युटर छन् । यस बिद्यालयसँग २ वटा कम्प्युटर ल्याब छ । बिद्यालयसँग यति धेरै कम्प्यटर र ल्याव तथा प्राबिधिक हुँदा हुदै बिद्यालयले हिजो बिद्यालयको लेटरप्याडमा हातले लेखेर नतिजा प्रकाशित गरेको छ । गौरीगञ्ज गाउँपालिकाले हरेक बर्ष बिद्यालयहरुलाइ प्रबिधि मैत्रि बनाउन लाखौ रकम बिनियोजन गर्ने गरेको छ भने गौरीगञ्ज माबिमा मात्रै झण्डै ३० लाखको कम्पुटर लगायतका सामग्री सरकारले दिएको छ । कक्षा कोठाहरुमा डिजिटल बोर्ड राखेर अध्ययन गराउने बिद्यालयको हस्त लिखित नतिजाले प्रबिधि मैत्रि बिद्यालयलाइ नै गिज्याइरहेको छ । यस बिद्यालयले पनि नतिजामा बिद्यार्थीहरुले प्राप्त गरेको जीपीए उल्लेख गरेको छैन ।

आदर्श माबिको जीपीए सहितको नतिजा
वडा नँ २ स्थित आदर्श माबिले हिजो आइतबार कक्षा ५ र ८ बाहेकको नतिजा प्रकाशित गरेको छ । आदर्श माबिले आफ्नो फेसबुक पेज मार्फत प्रकाशित गरेको नतिजामा बिद्यार्थीहरुले प्राप्त गरेको जीपीए समेत उल्लेख गरेको छ ।

वडा नँ १ स्थित बालकल्याण माबिको नतिजा थाहा हुन सकेको छैन । बिद्यालयका निमित्त प्रअ सुरेन्द्र राजवँशीसँग फोन सँपर्क गर्दा उनले बाल कल्याण माबिले कक्षा ५ र ८ बाहेकको नतिजा प्रकाशित गरेको र सानो कक्षाहरुको नतिजा जीपीए बीना र ठुला कक्षाहरुको नतिजा जिपिए सहित प्रकाशित गरेको बताएका छन् ।