असार १५ गौरीगञ्ज । गौरीगञ्ज १ कुञ्जीबारीमा वडाध्यक्ष कार्तीकलाल राजवँशी र उनकी श्रीमतीले सञ्चालन गरेको पुजा फार्मेसीमा सुइ लगाउँदा स्थानिय अन्दाजी १२ बर्षिया बिरामी ज्योती महतोको मृत्यु भएको पिडित परिवारले आरोप लगाएका छन् ।

गत बुधबार दिउसो छोरी ज्योती महतोलाइ स्वाँस प्रस्वाँसको समस्या भइ वाफ लिन कुञ्जीबारी बजार स्थित पुजा फार्मेसीमा लिएर गएकोमा फार्मेसीकी सञ्चालिकाले वाफ दिने मेसीन बिग्रीएको र सुइ लगाउँदा ठिक हुने भन्दै छोरीलाइ सुइ लगाइ दिएको र सुइ लगाएर आएको आधा घण्टामा छोरीको मृत्यु भएको कुरा मृतककी आमा बुचनी महतोले बताइन । सुइ लगाएर आएको करिब आधा घण्टा पछी ज्योतीले बमिट गरेको र बमिट गर्ने बितिकै उनको ज्यान गएको कुरा उनले बताइन । फार्मेसीका सञ्चालकको लापरवाहीले छोरीको ज्यान गएको मृतकका ठुलो बुवा ले आरोप लगाएका छन् । घटना भएको आज दुइ दिन बिति सक्दा समेत वडाध्यक्ष पिडित परिवारको सम्पर्कमा नआएको समेत उनिहरुले आरोप लगाएका छन् ।

स्थानीयले फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् । घटनाको दुइ दिनसम्म पक्राउ गरेर कार्वाहीका लागि प्रकृया अगाडी नबढाएकोमा प्रहरी प्रशासनसँग आफन्त र स्थानीयले आपत्ति जनाएका छन् ।

बालिकाको मृत्यु पछी पिडित परिवारको जाहेरीका आधारमा मृतक बालिकाको पोष्टमार्टम गरेर शब परिवारलाइ बुझाएको कुरा इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीले अनुसन्धान शुरु गरेको र पोष्ट मार्टमको रिपोर्ट आएपछी औषधीकै कारण मृत्यु भएको देखिए आरोपित लाइ कार्वाहीको प्रकृयामा ल्याउने कुरा झिलझिले प्रहरीले जनाएको छ । यस बारे प्रतिकृया लिन वडाध्यक्ष कार्तिकलाल राजवँशीलाइ आज दिउसो १ बजेदिखि फोन सम्पर्क गर्न खोज्दा यो रिपोर्ट तयार पार्दा सम्म उनको फोन स्विच अफ गरिएको थियो । तर वडाध्यक्ष राजवँशीले बिहान झापाली सञ्चारकर्मी बिनोद सापकोटा सँग कुरा गर्दै विरामीलाई सहि औषधी दिएको प्रतिकृया दिएको कुरा सञ्चारकर्मी सापकोटाले लेखेका छन् । राजवँशीले फार्मेसी र संचालकको कागजी प्रमाणमा शंका गर्नुपर्ने कारण नभएको बताउदै राजनीतिमा आग्रह पुर्वाग्रह राख्ने केहि ब्यक्तीले यो घटनालाई जोडेर अतिरन्जित गरिरहेको प्रतिकृया राजवँशीले दिएको कुरा सापकोटाले इजलास डटकममा लेखेका छन् ।