स्थानीय तहको निर्वाचन ०७९ साल जेठ ४ गते हुने भएको छ । नेपाल सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो ।

मंगलबार मन्त्री हरु सहित बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरेको हो ।

आयोगले यसअघि एकै चरणमा भए बैशाख १४ र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।

प्रधानमन्त्री देउवाले कानुनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलकालागि बोलाएका थिए। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिदैछ। त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको हो। ‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानून बमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने हो। तर, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिरहेकोले जेठ ४ मा निर्वाचन सकिने सुझाव दियौँ,’ छलफलपछि आयोगका एक पदाधिकारीले भने।