स्वतः अवकाशमा पर्ने १० हजारभन्दा बढी शिक्षकलाई पुनः करारमा नियुक्त गर्ने तयारी

पढ्न समय: 4 मिनेट

शिक्षक सेवा आयोगबाट छनौट भएका नयाँ शिक्षकको पदस्थापनासँगै कार्यरत करिव १० हजारभन्दा बढी शिक्षक बिस्थापित हुने र त्यसबाट तत्काल विद्यालयमा रिक्त स्थिति हुन नदिन तिनलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने गृहकार्य शुरु भएको छ ।

यो खबर आजको शिक्षा डटकमका लागि सुदर्शन सिग्देलले लेखेका हुन् |

- Advertisement -
Ad image

आयोगले गत असारमा अस्थायी शिक्षकबीच गराएको प्रतिस्पर्धाको अन्तिम नतिजा आउनै लाग्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारीहरुले यो जानकारी दिएका हुन् ।


‘आयोगको अन्तिम नतिजा आउनेबित्तिकै अस्थायी शिक्षकहरु स्वतः अवकाश हुने हुँदा विद्यालयमा शिक्षक रिक्त हुने देखियो,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा यही १२ चैतमा आयोजित पत्रकार भेटघाटका क्रममा केन्द्रको शिक्षक व्यवस्थापन शाखा निर्देशक नगेन्द्र रेग्मीले भन्नुभयो, ‘शैक्षिक शत्रको मुख र कमसेकम यो आर्थिक वर्षको अन्तिमसम्ममा भ्याकुम नहोस् भनेर करारमा नियुक्त गर्ने विकल्पमा हामी छलफल गरिरहेका छौं ।’ उहाँले पुराना शिक्षकलाई नै पुनः करारमा नियुक्त गर्ने र आउँदो साउनबाट अहिले आयोगद्वारा स्थायीका लागि छानिएका शिक्षकको पदस्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । ‘त्यत्तिबेला परीक्षा नरोजी सुविधाका लागि फारम भरेका र परीक्षा रोजेर सफल हुन नसकेका शिक्षकलाई सुविधा दिने कार्य पदस्थापना सँगसँगै गर्ने योजना हो,’ निर्देशक रेग्मीले भन्नुभयो । उहाँले १० हजार शिक्षक एकैपल्ट विदा हुँदा कक्षाकोठामा असर पर्ने हुँदा त्यो अवस्था आउन नदिन अहिले कार्यरतलाई नै करारमा नियुक्ति दिनु उत्तम विकल्प भएको बताउनुभयो ।


शिक्षा ऐनअनुसार अस्थायी शिक्षकले विज्ञापनको नतिजासँगै सेवा छोड्नुपर्ने हुन्छ । ऐनको नवौं संशोधनको दफा ११ च अनुसार अन्तिम नतिजा आएपछि अस्थायी शिक्षकको स्वतः अवकाश हुने प्रावधान छ । आयोगले २२ हजार ७६ पदमा कार्यरत अस्थायी शिक्षकका लागि विज्ञापन गरेकोमा २३ हजार ३ सयले फारम भरेका थिए । त्यस्तै, परीक्षा नरोजी सुविधासहित अवकाशका लागि एक हजारभन्दा बढीले फारम भरेका थिए । ऐन अनुसार परीक्षा रोजेर सफल हुन नसेकेका र परीक्षा नरोजी सुविधाका लागि फारम भरेका अस्थायी शिक्षकले सुविधा पाउँछन् । तर, परीक्षाको अन्तिम नतिजा प्रकाशित भएको मितिबाट उनीहरु स्वतः अवकाश हुन्छन् ।


शिक्षक सेवा आयोगका अनुसार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तीनै तहका लागि जम्मा १४ हजार ३ सयका हाराहारीमा शिक्षक स्थायी हुने अवस्था छ । यो हिसाबले स्थायीमा सिफारिश हुन नसकेका ९ हजारभन्दा बढीले स्वतः सेवा छोड्नुपर्ने हुन्छ भने एक हजारभन्दा बढी शिक्षक जसले परीक्षा नरोजी सुविधासहितको अवकाशको फारम भरेका थिए, उनीहरुले पनि स्वतः अवकाश पाउँनेछन् । तथापि, यिनै शिक्षकलाई सुविधा नदिउञ्जेल करारमा नियुक्त गर्दा सजिलो पर्ने बुझाईमा शिक्षा मन्त्रालय देखिएको छ । नेपाल शिक्षक महासंघसितको वार्तामा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरुसँग करार नियुक्तिका विषयमा छलफल भएको थियो ।


कुन दिनलाई अन्तिम नतिजा मान्ने भन्नेसम्बन्धमा पनि प्रष्ट भइसकेको छैन । यद्यपि, आयोगबाट ‘एकीकृत योग्यता सूची’ सिफारिश भएर एक दुईभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा गएपछि नतिजाको अन्तिम मिति तय हुने भएको छ । अहिलेसम्म निमाविको सूची केन्द्रमा पठाइसकिएको छ ।


खुला र आन्तरिकको पदस्थापना सँगसँगै


आयोगले गराएको आन्तरिक प्रतिस्पर्धामा स्थायी हुन सफल १४ हजारभन्दा बढी र खुला प्रतिस्पर्धामा उत्तीर्ण हुने जनशक्तिलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सँगसँगै पदस्थापना गराउने बताएको छ । आयोगले १२ हजार ७३९ पदमा खुला प्रतिस्पर्धा गराएको थियो । यसको नतिजा पनि तुरुन्तै गर्ने तयारीमा आफूहरु रहेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रेग्मी पनि साउनमा विद्यालय विदा पर्ने हुँदा सो महिनाभरीमा अवकाशप्राप्त शिक्षकलाई सुविधा दिइसक्ने र भदौसम्ममा पदस्थापना पनि सकिसक्ने बताउनुहुन्छ ।


सुविधाका लागि १० अर्बभन्दा बढी लाग्ने


परीक्षा नरोजी अवकाश रोजेका र परीक्षामा स्थायी हुन नसकेका शिक्षकलाई सुविधा दिई विदाई गर्न १० अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने भएको छ । अहिले शिक्षक किताबखानासँग ५ अर्ब २५ करोड रुपैयाँ मौज्दात रहेको र बाँकी ५ अर्ब बजेट जुटाउने तयारीमा लागेको केन्द्रका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *